खेलकुद

उप–मेयर कप क्रिकेट प्रतियोगिता: विराटनगर फाइनलमा प्रवेश

मोरङ (बेलबारी), चैत १४ । बेलबारीमा जारी प्रथम कोसी प्रदेश स्तरीय अन्तर पालिका उप मेयर कप क्रिकेट प्रतियोगिताको प्रथम सेमिफाइनल खेलमा इनरुवा नगरपालिकालाई ११४ रनको फराकिलो अन्तरले हराउँदै विराटनगर महानगरपालिका फाइनलमा प्रवेश गरेको छ। आजको सेमिफाइनल खेलमा प्रदेश सभा सदस्य मान बहादुर लिम्बू प्रमुख अतिथि रहेका थिए। 

खेलमा इनरुवा नगरपालिकाले पहिला टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित १५ ओभरको खेलमा ९ विकेटको क्षतिमा १५८ रन बनाएको थियो। विराटनगरकालागि श्रवण यादवले अर्धसतकिय पारी खेल्दै १८ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ५४ रन बनाए । इनरुवाको लागि कुश मण्डलले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए।

१५९ रनको लक्ष पछ्याएको इनरुवाले ८ ओभर ३ बलमा ४५ रन बनाउँदै सबै विकेट गुमायो। इनरुवाको लागि सोनु मण्डलले सर्वाधिक १४ रन बनाए। विराटनगर को लागि अमन अलिले ३ ओभरमा १२ रन दिँदै ४ विकेट लिए। विराटनगरका श्रवण यादव म्यान अफ थ म्याच बनेका छन् । यादवले १८ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ५४ रन बनाए र २ ओभरमा १८ रन खर्चेर २ विकेट समेत लिए।