फिचर न्युज भिडियो शिक्षा-स्वास्थ्य

रेबिज बारे जानकारीको कमिले वार्षिक २ सय नेपालीले गुमाउँछन् ज्यान (भिडियो)

बेलबारी, चैत्र १५ । सुन्दा सामान्य लाग्ने अनि गाउँघरमा देखिँदै र सुनिँदै आएको रेबिज शत प्रतिशत प्राणघातक रोग हो । यसले मानिससँगै पशु स्वास्थ्यमा पनि ठुलो खतरा र चिन्ताको विषय उत्पन्न गराएको छ । जसरी रेबिजको सङ्क्रमणमा आएकाहरूको असामयिक निधन पक्का छ त्यस्तै महत्त्वपूर्ण कुरा के पनि छ भने रेबिज शतप्रतिशत रोकथाम गर्न सकिने रोग पनि हो। यसको एक मात्रै उपाय भनेको समुदाय स्तरमा रेबिज सम्बन्धी उच्च जनचेतना हुनु जरुरी छ। आजको यस रिपोर्टमा हामी रेबिजको जोखिम, त्यसको लक्षण, न्यूनीकरण साथै यसबारे कसरी सचेत रहने भन्नेबारे चर्चा गर्नेछौँ ।

नेपालमा करिब २०० बिरामीको रेबिजका कारण बर्सेनि मृत्यु हुने तथ्याङ्क छ। बेलबारी नगरपालिकाकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्षमा करिब १० वटा पशु चौपाया रेबिजको सङ्क्रमणमा परेका थिए । रेबिज रोगका लक्षणहरू देखा परिसकेपछि यसको उपचार सम्भव छैन । यस्तो अवस्थामा रोगी पशु वा व्यक्तिलाई भौतिक दुःख र मानसिक चिन्ताबाट मुक्त गराई आरामसँग राख्न बाहेक अरू केही गर्न सम्भव छैन । यस्तो रोगको बारेमा जनचेतना फैलाएर केही हदसम्म त्यो सङ्ख्या न्यूनीकरण गर्न सकिने बेलबारी नगरपालिका पशु सेवा उपशाखाका अधिकृत मोहन प्रसाद नेपाल बताउँछन् । यसका लागि सर्वप्रथम रेबिज के हो भन्ने बुझ्न आवश्यक रहने अधिकृत नेपालको भनाई छ ।

नेपालीहरूमा ९६ प्रतिशत रेबिज रोग कुकुरको टोकाइबाट सर्ने गरेको पाइएको छ । यसको अलावा अन्य जनावरहरू जस्तै बिरालो, न्याउरी मुसा, स्याल, ब्वाँसो, फ्याउरो र अन्य मांसाहारी जनावरहरूको टोकाइबाट पनि रोग सर्ने गरेको रिर्पोटहरु छन् । तर बाँदर र मुसाहरूबाट समेत रेबिज सर्ने सम्भावना रहे पनि यो अवस्था विरलै पाइएको छ ।

विशेष गरी जनावरबाट मानिसमा रेबिज सर्नुको पछाडि सचेतना वा भनौँ जनचेतनाको कमी भएको देखिन्छ । कहिले काहीँ पशु धनीहरू रेबिज रोगलाई खोरेँत, भ्यागुते वा चोकि भनी झुक्किएर हातले औषधि खुवाउने कोसिस गर्दा रेबिज रोग सर्न सक्दछ । रेबिज रोग विशेष गरी कुकुरको टोकाइ बाट सर्ने हुँदा यी लक्षणहरू आफ्नो नजिक मा रहेका कुकुरहरूमा भए नभएको ख्याल गर्नु अति नै महत्त्वपूर्ण हुन्छ। रेबिज रोग लागेको कुकुरमा देखिने प्रमुख लक्षण नै सामान्य वानीव्यहोरामा परिवर्तन देखा पर्ने अधिकृत नेपाल बताउँछन् ।

त्यसो त रेबिज सङ्क्रमित जनावरको टोकाईबात बनेको घाउलाई कुनै ड्रेसिङ्ग गर्ने वस्तुले वा व्याण्डेजले छोप्न, घाउमा टाँका लगाउने जस्ता काम गर्न हुँदैन । यसले रेबिजका विषाणुलाई फैलन थप मद्दत गर्दछ । यदि घाउ ठुलो छ र बन्द गर्न आवश्यक छ भने रेबिजको सुई दिएर मात्रै टाँका लगाउन पर्दछ, घाउको टाँका खुकुलो हुन आवश्यक रहन्छ भने घाउबाट रगत र अन्य पदार्थहरू वहने प्रक्रियालाई वाधा पु¥याउन नहुने अधिकृत नेपाल बताउँछन् ।

कुनै जनावरलाई छोएमा वा खाने कुरा खुवाएमा, घाउ खटिरा नभएको छालामा जनावरले चाटेमा रेबिजको जोखिम रहँदैन तर जनावरले छाला छेडिने गरी घाउ पारेमा, च्यातिएको वा फुटेको छालामा चाटेमा, ¥याल आँखा,नाक मुख भित्र परेमा वा चाटेमा, चमेरोको सम्पर्कमा आएमा, वा जंगली जनावाले टोकेको अवस्थामा मानिसले रेबिजको सुई लगाउन आवश्यक रहने विश्व स्वास्थ्य सङ्गठनको सुझाव छ ।