अर्थ फिचर न्युज

सुनकोशी मरिन परियोजना निर्माणमा विश्व रेकर्ड, एक महिनामै डेढ किलोमिटर सुरुङ तयार

काठमाडौं, चैत्र १४ । चीनले नेपालको सुनकोशी मरिन नदी स्थानान्तरण (डाइभर्सन) बहुउद्देश्यीय परियोजनाको सुरुङ निर्माणमा विश्व रेकर्ड बनाएको छ।

एक महिनामै १५ सय तीन मिटर सुरुङ खनेर चिनियाँ कम्पनी ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड (कोभेक) ले विश्व रेकर्ड बनाएको नेपालका लागि चिनियाँ राजदूत छन सोङले जानकारी दिएका छन्‌।

यसअघि कोभेकले सन्‌ २०२३ मा एक महिनामा १२ सय १४ दशमलव १३ मिटर र सोही महिना प्रतिदिन ७२.६८ मिटर सुरुङ खनेको सोङले विद्युतीय सामाजिक सञ्‍जाल एक्समा लेखेका छन्‌।

कूल १३.३ किलोमिटर सुरुङबाट सुनकोशी नदीको पानी मरिनमा पुर्‍याइ धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारासम्म सिँचाइ सुविधा पुर्‍याउने तथा ३१ मेगावाट विद्युत उत्पादन गर्नेगरी सरकारले यो परियोजनालाई राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गरेको छ। आयोजनाको सुरुङ खन्ने काम चिनियाँ कम्पनी कोभेकले २०७९ साल असोज २८ गतेदेखि थालेको थियो।

कोभेकले हालसम्म करिब १२.३ किलोमिटर सुरुङ तयार गरिसकेको छ। सुरुङ खन्न टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिरहेको कोभेकले बिना अवरोध काम भए आउँदो जेठसम्म सुरुङ निर्माणतर्फको काम सम्पन्न गर्नेछ। सुनकोशी नदीमा बाँध निर्माणको काम नेपालको रमण कन्स्ट्रक्सन र भारतको पटेल इञ्‍जिनियरिङको संयुक्त उपक्रम (जोइन्ट भेञ्‍चर-जेभी)ले गरिरहेको छ।

सुनकोशी मरिन आयोजनामा हालसम्म ४ अर्ब रुपैयाँ खर्च भइसकेको छ। निर्धारित समयसीमा अर्थात्‌ वि.सं. २०८४ को असोजसम्म परियोजना निर्माण सम्पन्न भए यो आयोजना करिब ८ अर्ब रुपैयाँमा तयार हुने अनुमान छ। 

सुनकोशीको पानी मरिनमा पुर्‍याएर बागमती सिंचाइ आयोजनामार्फत वितरण गरिनेछ। कम्तिमा १ लाख २२ हजार हेक्टर जमिनमा बाह्रैमास सिंचाइ सुविधा पुर्‍याउने सरकारको लक्ष्य छ।

सुनकोशीको पानी मरिनमा पुर्‍याएपछि बागमतीको नहरबाट आएको पानीलाई पूर्वी नहरतर्फबाट ७६ हजार ६०० हेक्टर र पश्चिमतर्फ ४५ हजार ४०० हेक्टरमा विभाजन गरिनेछ।

आयोजनाबाट उत्पादन हुने बिजुली ४२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी नवलपुरमा जोडिनेछ। सरकारले आर्थिक वर्ष २०७७/७८ मा निर्माण थाली २०८२/८३ मा निर्माण सम्पन्न गर्न जनाएको थियो।