देश समाचार

संघीय सरकारबाट लुट्न मात्रै आउँछन मधेश प्रदेशमा कर्मचारी : मुख्यमन्त्री यादव 

काठमाडौं, बैशाख १६। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारबाट मधेश प्रदेशमा आएका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख र संघका कर्मचारीले मधेश प्रदेशमा लुट्ने र खाने काम मात्र गरेको आरोप लगाएका छन्।

शुक्रबार तराई यातायात व्यवसायी संघको १७औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले सबैभन्दा बढी बदमासी प्रशासनबाट भएको हुन्छ, जुन संघीय सरकारको हो, उनीहरू मधेशमा पैसा लुट्ने र खाने मात्र गर्छन्, तर काम गर्न र जनताको सेवा दिन भने नआएको दाबी गरे। 

मुख्यमन्त्री यादवले यहाँका जनताको सरकार भनेको मधेश प्रदेश सरकार रहेको हुँदा यहाँका जनताको विकासका निम्ति मधेश सरकारलाई सहयोग गर्नुपर्ने बताए। उनले केन्द्रका प्रतिनिधिहरूले मधेश सरकारलाई उपेक्षा गर्ने गरेको आरोप छ।

 देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउने र संघीयता ल्याउनसमेत मधेशको महत्वपूर्ण  भूमिका रहेको भन्दै संघीय सरकारले त्यसलाई उपेक्षा गर्न नमिल्ने बताए।  मधेशले अधिकार बिनाको संघीयता अपनाउनु परेको भन्दै उनले गुनासोसमेत गरे ।

फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री यादवले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछीमा भिषण आगलागीमा परेर घरवार बिहिन बनेकोहरुलाई मधेश प्रदेश सरकारले घर बनाइदिने बताए । उनले बुधवार जरलहवा गाछीमा भएको भिषण आगलागीमा परेर घरवार बिहिन भएकाहरुलाई मधेश प्रदेश सरकारले नयाँ घर बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे । बुधवार मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछीमा भीषण आगलागी हुदाँ १५० भन्दा बढी घर जलेर नष्ट भएको थियो । 

त्यस्तै अर्को प्रसंगमा बोल्दै मुख्यमन्त्री यादवले बाराको पथलैयाबाट श्रावन देखि रुट परमिट जाँच र नबिकरण लगाएतको सेवा सुरु हुने बताए ।