अर्थ फिचर न्यूज

धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन

काठमाडौं, १६ फागुन । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुलाएको छ ।  बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि तयार पारेपछि आवेदन खुलाइएको हो । अर्थ मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको छ । 

योग्यता पुगेका तथा इच्छुक नागरिकले १५ दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरवारमा खामबन्दी आवेदन दिन सक्नेछन् । स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका व्यक्ति योग्य हुनेछन् । 

३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचार, सम्पत्ति सुद्धीकरण, मानव वेचबिखन, लागू औषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कुनै कसुर नभएको व्यक्ति हुनुपर्नेछ । अर्थमन्त्रालयको वेबसाइटमा प्रकाशित नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि २०८० को दफा ३ बमोजिम कागजात तथा विवरणहरु आवेदक स्वयम्ले प्रमाणित गरी २ प्रति पासपोर्ट साइजको फोटो, व्यवसायिक कार्यायोजना तथा ५ हजार दस्तुर बुझाएको सक्कल भौचर आवेदनका साथ पेश गर्नुपर्नेछ ।

सरकारले बोर्डको अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापन प्राध्यापक उदय निरौला रहेको तीन सदस्यीय समिति गठन गरेको थियो । कार्यविधिअनुसार बोर्ड अध्यक्षका लागि तीन जनाको आवेदन परेमा पहिलो चरणमा परेका आवेदनहरूलाई यथावत् राखी थप आवेदनका लागि सात दिनको म्याद दिई पुनः दरखास्त आह्वान गरिने कार्यविधिमा उल्लेख छ । 

पुनः दरखास्त आह्वान गर्दा थप आवेदन परे वा नपरे पनि छनोटसम्बन्धी प्रक्रियालाई अगाडि बढाउन सकिने व्यवस्था कार्यविधिमा छ । आवेदन दिन धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव भएको हुनुपर्ने छ । तीस वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् ।