अन्तर्राष्ट्रिय समाचार

कतारी राजाको सुरक्षामा सेना परिचालन, सडक पूरै खाली गरिने

काठमाडौं, वैशाख ११। कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।

भ्रमणकाे अघिल्लो दिनदेखि नै सुरक्षाका लागि गुप्तचर निकायका सुरक्षाकर्मी खटाइसकिएकाे छ भने सेना सुरक्षा दिने तयारीमा छ । काठमाडाैं भित्र र बाहिरबाट काठमाडाैं आउने सवारीसाधनलाई नियन्त्रणमा लिएर डाइभर्ट गर्ने सम्मकाे तयारी छ ।

नेपालमा कतारी सुरक्षा निकायकाे टोलीले निगरानी थालिसकेकाे छ । सादा पोशाकमा परिचालित भएको कतारी सुरक्षा समूह अहिले काठमाडाैंकाे सुरक्षा निगरानीमा व्यस्त छ । गृह मन्त्रालय स्रोतले बताएको छ । भ्रमणपूर्व नै तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

दुई निजी जहाज लिएर पहिलोपल्ट नेपाल आउँदै गरेका कतारका राजाकाे सुरक्षामा सरकारले कडा सुरक्षा प्रवन्धकाे तयारी गरेकाे हाे । कतारी राजासँगै उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री नेपाल आउँदैछन्।

मङ्गलबार उनीहरूकाे सुरक्षाका लागि सेनासहित प्रहरीलगायत सुरक्षाकर्मीले कडा पहरेदार दिने भएका हुन् ।

कतारी राजा दुईदिने भ्रमणका लागि मङ्गलबार नेपाल आउँदैछन् । सरकारले उनको सम्मानमा एक दिन सार्वजनिक बिदा दिएकाे छ ।

कतारी राजाकाे सुरक्षाका लागि करिब १० हजार सुरक्षाकर्मी काठमाडौंमा परिचालन गरिने गृहमन्त्रालयले जनाएकाे छ ।

सडकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको टोली परिचालन हुनेछन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नपाली सेना रहनेछन् ।

कतारी राजा मंगलबार साँझ ५ः३५ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नेछन् । तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका कतारी अमिर बंगलादेश हुँदै नेपाल आउँदैछन्।

कतारी राजासहितकाे टाेली सोल्टी होटल बस्ने जनाइएकाे छ । सुरक्षामा सेनाले हवाई गस्ती पनि गर्ने छ ।

कतारी राजा हिँड्दा सडकमा अन्य गाडी र पैदलयात्रीको आवतजावत बन्द गरिनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारी राजाको भ्रमण हुन लागेको हो । पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका कतारी अमिरलाई राष्ट्रपति पौडेलले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मङ्गलबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति पौडेलले मंगलबार बेलुका रात्रिभोजको आयोजना गर्नेछन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी अमिरबीच द्विपक्षीय वार्ता हुनेछ । सो वार्ताका क्रममा केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुन सक्ने जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुनेछ । उनी बुधबार बेलुका नै कतार फर्कने कार्यक्रम छ।