अन्तर्राष्ट्रिय

अमेरिकामा बाढीको बितण्डाः कम्तिमा ४३ को मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी , १८ भदौ । अमेरिकाको उत्तर पूर्वी भागमा गएको बाढी र आँधीबेहरीमा परी कम्तिमा ४३ जनाको मृत्यु भएको छ । बाढी र आँधीमा दर्जनौं मानिस हराइरहेका छन् । समुद्री आँधी आइडापछिको बर्षाका कारण न्युयोर्क, न्यूजर्सी, पेन्सलभेनिया र फिलडेल्फिया सबैभन्दा बढी प्रभावित भएका छन् । 

न्यूयोर्क र न्यूजर्सी राज्यमा ठूलो वर्षा भइरहेको छ । वर्षापछिको बाढीका कारण दर्जनौं घर र सडक डुबेका छन् । भवनको तल्लो तलामा बस्ने मानिसहरु फसेका छन् । 
आँधीका न्यूजर्सीमा २३ जना र न्युयोर्कमा कम्तिमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई वर्षीय बालक पनि छन् । त्यसैगरी पेन्सलभेनियाको फिलडेल्फियामा तीन जना र कनेटिकटमा दुई जनाको मृत्यु भएको छ । 

देशभर जलवायु संकटः राष्ट्रपति बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन संकटसँग जुध्न महत्वपूर्ण लगानी आवश्यक भएको पर्ने बताएका छन् । अमेरिकाले देशैभरि जलवायुसम्बन्धी संकट भोगिरहेको र त्यसको सामना गर्नु भनेको ‘जीवन वा मरणको सवाल भएको’ टिप्पणी गरेका छन् ।