फिचर न्यूज समाचार

बेलबारीमा सडक तथा पूर्वाधारको अवस्था: ठेक्कामा ६१ प्रतिशत, निर्माण कति ?

निकेश बराल

बेलबारी, फागुन २६ । मोरङको बेलबारी नगरपालिका अन्तर्गत रहेको सडक तथा पूर्वाधार विकास उपशाखाले चालु आर्थिक वर्षको कार्य प्रगति केही मन्द देखिएको छ । उपशाखाले सडक पुर्वधारको अवस्था, कार्य प्रगति, ठेक्का पट्टाको अवस्था र भौतिक प्रगति लगायतका विषयमा भइरहेको प्रगतिबारे सञ्चार माध्यमलाई जानकारी दिएको हो ।

उपशाखाद्वारा उपलब्ध विवरणअनुसार चालु आर्थिक वर्षमा सडक पुर्वधार सम्बन्धी २१ वटा योजना बेलबारी नगरपालिकासँग रहेको छ । जसमा १३ योजनाका लागि निर्माण सम्झौता भइसकेको छ भने ती मध्ये ६ वटा योजनाको निर्माण प्रक्रिया जारी रहेको छ । बाँकी ८ योजना मध्ये ४ योजना मूल्यांकनका क्रममा छन् भने ४ योजना बोल पत्र प्रकाशनको अवस्थामा रहेको बेलबारी नगरपालिकाका सडक तथा पूर्वाधार विकास उपशाखा इन्जिनियर बालकृष्ण निरौलाले जानकारी दिए ।

नगरपालिकासँग रहेको कुल २१ वटा योजनाको बजेट १३ करोड ७२ लाख ८५ हजार ४९२ रुपैयाँ रहेको छ । जस मध्ये ४ करोड ७७ लाख ७९ हजार ४१ रुपैयाँ रकम बराबरको १३ वटा योजना निर्माण सम्झौता भइसकेको हो । सबै भन्दा बढी बेलबारी ७ स्थित निमार्णधिन घाटमा १ करोड ६५ लाख १९ हजार ५७३ रुपैयाँको बजेट रहेको छ भने सबै भन्दा कम ३० लाख ६६ हजार ८८१ रुपैयाँ बजेटमा बेलबारी ३ स्थित पशु हाट ट्रस्ट टहरा निमार्णको योजनाको रहेको छ । त्यस्तै निर्माण सम्झौता भएर काम सुरु भएको ६ वटा योजनाको कुल बजेट १ करोड ९९ लाख १४ हजार ९५४ रहेको छ । जसमा बेलबारी ३ को पशु हाट ट्रस्ट टहरा निर्माण, बेलबारी ६ को वरियती शाखा नहर कालोपत्रे, बेलबारी ७ को मूल नहर देखी अगर टोल–सतार टोल कालोपत्रे, बिहीबारे देखि विकास बस्नेतको घरसम्म कालोपत्रे, बेलबारी ११ को भीम बहादुर कार्कीको घर पश्चिम मुनाल पथ कालोपत्रे र बेलबारी ७ को बिसनपुर देखि माइनर नहरको माथिको सडक कालोपत्रे रहेका छन् ।

नगरपालिकाले चालु आर्थिक वर्षमा सम्झौता भएका योजना आगामी असार १० गते भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । हाल निमार्ण प्रक्रियामा रहेका ६ वटा योजना सम्झौता अवधि भित्रै निमार्ण सम्पन्न हुने अवस्था भए पनि सम्झौता हुन बाँकी योजना समयमै निमार्ण सम्पन्न गर्न भने मुस्किल देखिन्छ । कर्मचारी सरुवाका कारण बिचमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्झौता समयमा हुन नसकेको इन्जिनियर निरौला बताउँछन् ।

त्यसो त बेलबारी नगरपालिकाको सडक तथा पूर्वाधार विकास उपशाखाको कार्यगत प्रगति गत आर्थिक वर्षको तुलनामा केही कमजोर देखिन्छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा ५० प्रतिशत भौतिक प्रगति गरेको यस शाखाको काम चालु आर्थिक वर्षमा भने केही मन्द भएको इन्जिनियर निरौलाको भनाई छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्म सुस्त रहेको कामलाई नगरपालिकाले हाल आएर तीव्रता दिएको देखिन्छ । विपद् व्यवस्थापन, खोला तटवन्धन लगायतका काम बाँकी रहेकाले मौसम अनुकूल भए तोकिएकै समयमा निमार्ण सम्पन्न हुनेमा पालिका विश्वस्त छ ।