फिचर न्यूज राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते

काठमाडौँ, वैशाख ७। नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक यही वैशाख २८ र २९ गते काठमाडौँमा बस्ने भएको छ । त्यसअघि २६ गते स्थायी कमिटी र २७ गते पोलिटव्युरो बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकमा पार्टीको महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमाथि छलफल हुनेछ ।

महासचिव घनश्याम भुसालले केन्द्रीय कमिटी बैठकमा जनवर्गीय सङ्गठनका कार्य प्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल हुने जानकारी दिएका छन् ।

महासचिव भुसालका अनुसार बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी बाँडफाँड, आगामी असारमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटका मापदण्ड तय गरिने छ । सो पार्टीले असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन आयोजना गर्न लागेको छ ।