फिचर न्यूज शिक्षा-स्वास्थ्य

सुकुना क्याम्पसमा योगी विकासानन्दको साक्षात्कार

सुन्दरहरैँचा, चैत २९ । सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचाको सभाकक्षमा मनोक्रान्तिका प्रवर्तक डा. योगी विकासानन्द मार्फत साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समित‚ सल्लाहकार समिति‚ शिक्षक‚ कर्मचारी र विद्यार्थी प्रतिनिधिहरू गरी जम्मा २२० जना बिचमा कार्यक्रम भएको थियो ।

तनाव व्यवस्थापन‚ सकारात्मक सोचको विकास‚ असल आचरणको निर्माण‚ सम्मोहन उपचार विधि‚ योग‚ ध्यान‚ दार्शनिक विषयमा साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो ।

डा. योगी विकासानन्दले कार्यक्रममा व्यक्तिको शक्ति मापन गर्दै शक्ति आर्जन गर्ने तरिका र सम्मोहन विधिको प्रयोग समेत गरेका थिए । मानिस किन दुस्खी हुन्छ र चरम सुख प्राप्त गर्न के कस्ता कार्यहरू गर्नु पर्दछ भन्ने विषयमा आफ्नो अनुभव सुनाउँदै सुखमय जीवनका लागि उत्प्रेरणा दिएका थिए । कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ लगायत जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गरेका थिए । योगीको टोलीलाई सहायक क्याम्पस प्रमुख द्वय बलराम पोखरेल र गणेशप्रसाद दहालले स्वागत सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालनबाट शिक्षक तथा कर्मचारीको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको र यसले गर्दा कार्यकुशलतामा अभिवृद्धि हुने क्याम्पसका अधिकृत नवराज कोइरालाले जानकारी दिए ।