फिचर न्यूज शिक्षा-स्वास्थ्य

धरानमा डेंगुको संक्रमण बढ्दै, ३ जनाकाे मृत्यु

काठमाडौं, असार २१ । सुनसरीकाे धरानमा डेंगुको संक्रमण बढ्दै गएको छ । जेठ यतामात्रै धरानमा २ हजार जना भन्दा बढीमा डेंगु संक्रमण भेटिएको छ । डेंगुबाट ३ जनाको मृत्युसमेत भइसकेको छ ।

धरान उपमहानगरपालिकाका वडा नम्बर ११, १५ र १७ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यी वडा मुख्य बजार क्षेत्र पर्छ । डेंगुको संक्रमण भएपछि अचेत हुने, शरिर सुन्निने, उच्च ज्वरो आउने खान मन नलाग्ने जस्ता लक्षण देखा पर्छन् ।

प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, सवारीसाधनका टायर, टिनका भाँडा र गमलामा जमेको पानीमा लामखुट्टेले फुल पार्छ । फुलबाट लार्भा, प्युपा हुदै वयस्क लामखुट्टेमा परिणत हुन्छ । डेङ्गी सङ्क्रमित लामखुट्टेको जीवन चक्र चार साताको हुन्छ । यसले एक पटकमा सय देखि ४ सय वटासम्म अण्डा पार्ने गर्छ । यी प्रकृतिका लामखुट्टेले जमेको पानीमा मात्र फुल पार्ने भएकाले घर वरिपरि कुनै पनि ठाँउमा पानी जम्न दिन नहुने चिकित्सकको सुझाव छ । अस्वभाविक रुपमा डेंगु संक्रमित बढेपछि घर वरिपरि सफा राख्न र मान्छेको बढी भिडभाड भएको ठाउँमा जानुपरे पूरा जीउ ढाक्ने कपडा लगाउन उपमहानगरपालिकाको सुझाव छ । डेंगुबाट नआत्तिन पनि पालिकाले आग्रह गरेको छ ।