पत्रपत्रिका

‘५७ भाइ’ को माग पूरा नगर्ने ओली पक्षको संकेत

भादौ ७, काठमाडौं । नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ । पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका नेताहरूले १० बुँदे कार्यान्वयन नभए पार्टीभित्र ठूलो विद्रोह हुने चेतावनी दिँदै आएका छन् । तर, उनीहरूको चेतावनीको जवाफ ओली पक्षीय नेताले चेतावनीकै शैलीमा दिन थालेका छन् ।

पार्टी एकताका लागि तेस्रो धारका ‘५७ भाइ’ ले पार्टी एकताका लागि मंगलबारसम्मको अल्टिमेटम दिएको भए पनि अध्यक्ष ओली एक्लै अगाडि बढ्न खोजेको उनीहरूको बुझाइरहेको छ । अध्यक्ष ओलीले मंगलबारभित्र १० बुँदे सहमति कार्यान्वयनका लागि चित्तबुझ्दो जवाफ नदिए आफूअनुकूल निर्णय गर्न स्वतन्त्र रहेको बताइरहँदा नेतृत्व पंक्ति भने त्यसतर्फ गम्भीर नरहेको उनीहरूको बुझाइ छ ।

‘५७ भाइ’का नामले परिचित समूहमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तर नेपालकै नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीमा नरहेका व्यक्ति रहेका छन् । पार्टी एकता जोगाउन कतै पनि नखुलेका उनीहरू अध्यक्ष ओली निकटका नेताहरूले पार्टीमा अब बार्गेनिङ नचल्ने जवाफ फर्काएपछि निराश बनेका छन् ।

गत शुक्रबार महाराजगन्जस्थित एक पार्टी प्यालेसमा बसेको ५७ भाइको बैठकले ओलीका साथै नेपाललाई समेत पार्टी एकताका लागि दबाब दिने निर्णय लिएको थियो । नयाँ दल दर्ताको प्रक्रियामा रहेका नेपाललाई उनीहरूले दल दर्ता नगरी पार्टी एकतामै फर्किन भन्दै दबाब दिँदै आएका छन् ।

तर, ओली समूहका नेताहरूले तेस्रो धार भनिएका (५७ भाइ)लाई पार्टी एकताको नाममा बार्गेनिङ गरिरहेको आरोप लगाएका छन् । पार्टी एकताको नाममा अब त्यस्तो कुनै बार्गेनिङ नचल्ने भन्दै ओली समूहका नेताले उनीहरूको प्रस्ताव अस्वीकार गरेका छन् ।

गत ३ भदौमा भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘पिलो निचोरेको तर घाउ बाँकी नै छ ।’

ओलीको यो भनाइलाई उनीहरूले १० बुँदे कार्यान्वयन हुँदैन, यथास्थितको एमालेमै फर्किने फर्किउन्, नफर्किनेहरू जहाँ जानु छ त्यहाँ गए हुन्छ भन्ने रहेको बुझेका छन् ।

ओलीनिकट प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १० बुँदे कार्यान्वयनको नाममा ५७ जना नेताले बार्गेनिङ गरिरहेको बताउँदै अब पार्टीमा बार्गेनिङ नचल्ने बताए । उनले १० बुँदे कार्यान्वयन भइसकेको समेत दाबी गरे ।

‘उहाँहरू जुन भेला, जुन वक्तव्य बाजी गर्दै हुनुहुन्छ, त्यो बेठिक छ, उहाँहरूलाई सर्लक्कै १० बुँदे कार्यान्वयन नगर्ने कसैले भनेको छैन । अध्यक्ष ओलीले एकताका लागि आह्वान गरिरहनुभएको छ, हामीले १० बुँदेलाई अनुमोदन पनि गरेका छौं,’ राईले भने, ‘अब यो सरासर कार्यान्वयन गर्ने, स्थायी कमिटीको बैठक बसेर यसरी कार्यान्वयन गर्ने भनेर भन्दाखेरि टुंगिने जुन कुरा छ उहाँहरूले नयाँ माधव नेपाल फेरि खडा गरेर जुन बार्गेनिङ गर्दै हुनुहुन्छ, बक्तव्य वाजी गर्दै हुनुहुन्छ, यो कुरालाई तुरुन्तै रोकेर पार्टीमा बसेर, उभिएर सबै कुरा लागू गर्नुपर्छ । यो धारको बैठक, भेला तुरुन्तै रोक्नुपर्छ । यो पार्टीको हितमा छैन ।’

अध्यक्ष ओली समूहका नेताहरूले अल्टिमेटमको कुनै अर्थ नहुने प्रतिक्रिया दिएका छन् । पार्टीभित्र कुनै विवाद वा समस्या नभएको भन्दै उनीहरूले आफ्नो जिम्मेवारीअनुसार पार्टी काममा फर्किनुपर्नेमा जोड दिएका छन् ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका ओली समूहका नेता सत्यनारायण मण्डलले तेस्रो धार (५७ जना नेता)को नियत नै राम्रो नभएको टिप्पणी गरेका छन् । अर्काको प्रभावमा परेर पार्टीभित्र बार्गेनिङ गर्न खोजिएको आरोप मण्डलले लगाए ।

‘१० बुँदे सहमतिलाई पार्टीले अनुमोदन गरिसकेको छ । कार्यान्वयनका लागि त पार्टी बैठकमा आउनुप¥र्यो । बाहिर बसेर बार्गेनिङ गर्ने भनेको पार्टीलाई सिध्याउने नियत मात्रै हो,’ मण्डलले भने, ‘अब पार्टीमा बार्गेनिङको कुनै अर्थ छैन । उनीहरूको नियत नै राम्रो छैन । अर्काको प्रभावमा परेर बार्गेनिङ गर्न खोजिँदै छ ।’

५७ जना नेताले भनेको १० बुँदे सहमति पार्टीले अनुमोदन गरिसकेको र त्यसको कार्यान्वयनका लागि पार्टीको गतिविधिमा सहभागी भएर खबरदारी गर्नुपर्ने उनले बताए ।

‘तर बैठकमा नआउने अनि बाहिर बसेर पार्टी एकताको नाममा बार्गेनिङ गर्ने ?,’ मण्डलले प्रश्न गरे ।

माओवादीबाट एमालेमा आएका नेताहरूको बारेमा ५७ जना नेताहरूको दृष्टिकोण नै गलत रहेको उनको भनाइ छ । ‘२०७५ जेठ २ को अवस्थामा पार्टी फर्किनुपर्छ भन्नुहुन्छ । माओवादीबाट एमालेमा आएका नेताहरूको बारे के गर्न खोजेको ? पार्टी त यसै पनि फुटेको छ, उसै पनि फुटेको छ । अब कोही कसैको कुनै बार्गेनिङ पार्टीमा चल्दैन,’ मण्डलले भने ।

३ जेठ २०७५ एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । सो एकीकरणलाई सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाले पूर्वावस्थामा फर्काइदिएको थियो । तर, नेकपा रहेकै अवस्थामा ओली समूहमा लागेका पूर्वमाओवादी पृष्ठभूमिका केही नेता ब्युँतिएको एमालेमै रहेका थिए । १० बुँदे सहमतिअनुसार २ जेठ २०७५ को एमाले स्थायी कमिटी बैठक बसेर उनीहरूलाई पार्टीमा मनोनीत गरेर जिम्मेवारी दिनुपर्ने अडानमा तेस्रो धारका नेता रहेका छन् ।

यो समाचार आजको रजधानी दैनिकमा सुभास साहले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *