राजनीति समाचार

फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का

काठमाडौँ, वैशाख १३। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि एमालेसहित पाँच दलीय नयाँ सत्ता गठबन्धन भारी पर्ने देखिएको छ । कांग्रेससँग ११ महिनाको सत्ता सहकार्य तोडेका प्रचण्डले फागुन २१ गते एमालेसँग मिलेर मन्त्रीपरिषद् पुनर्गठन गरेका थिए । तर सत्ता घटककै नेताहरू नयाँ समीकरण लामो समय नटिक्ने बताउन थालेका छन् ।

सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्वार्थ बाझिने गरी गृह मन्त्रालयको जिम्मेवारी दिनु प्रधानमन्त्री प्रचण्डका लागि सबैभन्दा पेचिलो विषय भएको छ । यसैलाई मुख्य मुद्दा बनाउँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आन्दोलन चर्काउने रणनीति बनाएको छ ।

रविलाई गृहमन्त्री बनाएकोमा विपक्षी दलमात्र होइन, सत्ता घटक दलमै पनि असन्तुष्टि छ । तर सरकार जोगाउनुपर्ने संसदीय अङ्कगणितको बाध्यताका कारण प्रचण्ड निरीह देखिएका छन् ।

सरकारकै अर्को महत्त्वपूर्ण घटक एकीकृत समाजवादी पनि सशङ्कित देखिएको छ । गठबन्धनमा आफूलाई एमालेले पेलेर जाने रणनीति बनाएको एकीकृत समाजवादीका नेताहरूले महसुस गरेका छन् । सो पार्टीका नेताहरू बरु सरकार छाड्ने तर केपी ओलीसँग कुनै हालतमा नझुक्ने अडानमा देखिएका छन् ।

सत्ता साझेदार दल जसपाको असन्तुष्टि र नाउपाभित्र देखिएको अन्तरविरोध प्रचण्डका लागि निकै टाउको दुखाइको विषय बनेको छ । पछिल्लो समय एमाले र कांग्रेसका शीर्ष नेताहरूबिच सम्बन्ध सुधारका प्रयासले प्रचण्ड झन् झस्किएका छन् ।