फिचर न्यूज राजनीति

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

पोखरा, चैत २५ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।

आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिएका थिए । समयसीमा सकिनुभन्दा दुईदिन अगावै गठबन्धनका नेता अधिकारीले आज बिहानै मात्र ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न गर्न निवेदन बुझाएका थिए । उनलाई एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन छ । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।