फिचर न्यूज राजनीति

नयाँ गठबन्धनप्रति सन्तुष्ट छैनन् माधव नेपाल

काठमाडौँ,  चैत्र ४ । सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वर्तमान सत्ता गठबन्धनप्रति त्यति सन्तुष्ट देखिएका छैनन्। नयाँ सत्ता समीकरणको सुरुवातमा थाहा नदिएको भन्दै असन्तुष्ट रहेका नेपाल सरकारमा सहभागी भइसकेपछि पनि सन्तुस्ट हुन नसकेका हुन।

उनले गठबन्धनको भविष्यलाई लिएरसमेत प्रश्न उठाउँदै आएका छन्। काभ्रेमा शनिबार जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन र यसमा सामेल दलहरू कहिलेसम्म रहिरहन्छन् भन्ने गम्भीर प्रश्न खडा भएको बताएका थिए। ‘रातारात गठबन्धन परिवर्तन गर्ने आवश्यकता किन पर्‍यो? नेपालको राजनीतिमा एकीकृत समाजवादी पार्टीको कुनै औचित्य छ कि छैन? कुनै भूमिका, महत्व छ कि छैन?,’ उनले भनेका थिए।

नयाँ गठबन्धन निर्माणयता प्रायः प्रत्येक कार्यक्रममा नयाँ समीकरणप्रति नेपालले शंका गर्दै आएका छन्। शुक्रबार पनि नेपालले नयाँ गठबन्धनप्रति विश्वास र शंका दुवै रहेकाले अहिले शंकाको लाभ दिने पक्षमा आफ्नो पार्टी उभिने बताएका थिए।

‘हामीले ब्लाइन्ड सपोर्ट गर्ने पनि होइन, ब्लाइन्ड विरोध गर्ने पनि होइन, बेनिफिट अफ डाउट दिएर अघि बढ्नुपर्छ। नयाँ समीकरण स्वीकार्य छ। तर, जालझेल र षड्यन्त्र भने स्वीकार्य हुँदैन। हामीलाई कुनै पद ओगटेर बस्नु छैन। प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि चाहिएको होइन, देशको प्रगति र परिवर्तन चाहिएको हो,’ शुक्रबार पार्टीनिकट महिलाहरूको भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेपालले भनेका थिए।

एकीकृत समाजवादीबाट हाल सरकारमा दुई मन्त्री सहभागी भए पनि नेपाल गठबन्धनप्रति नै ससंकित हुनुले थुप्रै प्रश्न उब्जाइदिएको छ। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको विगतको कार्यशैलीसँग नेपाल निकै निकट छन्। उनीहरूको भूमिका र एक अर्काप्रतिको विश्वाससँग पनि उनी निकट छन्। सोही कारणले नेपाल वर्तमान गठबन्धनप्रति ससंकित बनेका हुन्।

नयाँ गठबन्धनप्रति विश्वसनीय वातावरण अझै बनिनसकेको नेकपा एसका नेताहरूको बुझाइ छ। त्यसैले सहकार्य गर्दागर्दै पनि हिजोको व्यवहारले झस्काउने ठाउँ रहेको नेपालले बताउँदै आएका छन्।

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले ओली र प्रचण्डमा धोका दिने प्रवृत्ति भएकाले विश्वासको वातावरण बन्न नसकेको बताए। उनले कांग्रेसभन्दा ओली र प्रचण्डमा धोकाको प्रवृत्ति बढी रहेको बताए। त्यसैले भोलिका दिनमा उनीहरूबीचमा धोका हुँदैन भन्ने कुनै ग्यारेन्टी नरहेको उनी बताउँछन्।

नयाँ गठबन्धन बन्दा अध्यक्ष नेपाल बिरामी थिए। उनलाई ओली र प्रचण्डले घरमै आएर सहकार्यको प्रस्ताव गरेका थिए। जसले नेपाललाई नयाँ गठबन्धनमा सहभागी हु्न सजिलो बनाइदिएको थियो। यद्यपि, नयाँ गठबन्धनलाई रास्वपाले धोका दिने डरले ओली र प्रचण्ड नेपाललाई फकाउन कोटेश्वर पुगेको एकीकृत समाजवादीका नेताहरूले राम्रैसँग बुझेका छन्। उनीहरू आफूहरूप्रति प्रेमाभावभन्दा पनि बाध्यताले नजिकिन खोजेको नेकपा एसका नेताहरूको बुझाइ छ।

कांग्रेस सभापति शेरबहादुर देउवा पनि वैकल्पिक गठबन्धन बनाउन भन्दै नेपालनिवास कोटेश्वर पुगेका थिए। वर्तमान गठबन्धनप्रति विश्वस्त नभएकै कारण नेकपा एसले कांग्रेसलाई नचिढ्याउने रणनीति लिएको छ।

शनिबार रौतहट–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा नेपालले सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। ‘जो संविधानको पक्षपोषण र गणतन्त्रको रक्षाको भूमिका खेल्न सक्दछ, त्यसलाई शत्रु घोषणा गर्ने कुरा कुनै हालतमा उचित हुँदैन। विचारमा द्वन्द्व चल्छ, कांग्रेससँग पनि प्रतिस्पर्धा हुन्छ। कांग्रेसविरुद्ध संघर्ष पनि हुन्छ। तर, कहिलेकाहीँ सहकार्य पनि हुन्छ। संघर्ष र सहकार्यको कुरा बुझ्न सकिएन भने सम्बन्ध अगाडि बढाउन सकिँदैन। हामीले धेरैभन्दा धेरै मित्र बनाउने हो, थोरै शत्रु किटान गर्ने हो,’ उनले भने।

कांग्रेससहितको अघिल्लो गठबन्धनमा प्रचण्डपछि नेपाल प्रधानमन्त्री बन्ने सहमति थियो। सहमतिअनुसार अबको केही महिनापछि प्रधानमन्त्री बन्ने पालो नेपालको थियो। त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति थियो। तर, नेपाल थाहै नदिई नयाँ समीकरण बनाएपछि प्रचण्डप्रति नेपाल असन्तुष्ट बनेका हुन्। सोही कारण नेपालले वर्तमान सत्ता गठबन्धनप्रति सरकारमा सहभागी भएर पनि सार्वजनिक कार्यक्रममै असन्तु्ष्टि पोख्दै आएका छन्।