फिचर न्यूज राजनीति

इलाम २ः एमालेले सुवास नेम्वाङको स्थानमा छोरा सुहाङलाई उठाउने पक्का

काठमाडौं, चैत ११ । नेकपा एमालेले वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको हाे ।

यसअघि पार्टी जिल्ला कमिटीले नेम्वाङ, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, रवीन्द्र सुवेदी, बुद्धि खनाल र रिपल राईको नाम सिफारिस गरेको थियो । आज बसेको बैठकले दिवंगत सुवास नेम्वाङका छोरा सुहाङलाई नै चयन गरेको हो ।

एमालेका तत्कालीन उपाध्यक्ष तथा संबिधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनपछि गत भदौ २६ देखि इलाम २ रिक्त छ। उक्त क्षेत्रमा १५ वैशाखमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन नजिकिएसँगै इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी चहलपहल बढेको छ । इलाममा ढुक्क गरी बसेर सुहाङले भेटघाट र अन्तरक्रियालाई तीव्रता दिएका छन् । पछिल्लो एक सातायता पेशाले अधिवक्ता सुहाङ दर्जनौं भेटघाट र कार्यक्रममा सहभागी भएका छन् ।