न्याय-अन्याय फिचर न्युज

सूर्यदर्शन सहकारी पीडितको प्रश्न : जिबी राईलाई कसले लुकाएको छ ?

काठमाडौं,  चैत्र ८ । सूर्यदर्शन सहकारीका पीडितहरुले आफूहरुको वचत फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरेका छन् ।

पीडितका तर्फबाट सूर्यदर्शन सहकारी सङ्घर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई बिहीबार ज्ञापन पत्र बुझाउँदै बचत फिर्ताको वातावरण बनाइदिन अनुरोध गरेका हुन् ।

सूर्यदर्शन सहकारीमा दुई वर्षयता १८ हजार ७०० जना वचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको भन्दै उनले यसको फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

पीडितहरूले सहकारी पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जिबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरूलाई पक्राउ गर्न चासो नदिएको पनि बताएका छन् । ‘सहकारी सञ्चालकलाई तुरुन्त पक्राउ गरी कारबाहीको दायरामा ल्याउनु पर्ने देखिन्छ तर अहिलेको यो सरकारलाई यो जिबी राई भन्ने नाम र सूर्यदर्शन भन्ने सहकारी प्रधानमन्त्री, गृहमन्त्रीदेखि परराष्ट्रमन्त्रीका साथै सिङ्गो राष्ट्रको प्रहरी प्रशासनको टाउको दुखाई बनिरहँदा पनि बाँकी अभियुक्तहरू किन पक्राउ पर्दैनन् ?’समिति सभापतिलाई पीडितहरूले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

उनीहरूले सुशासनको कुरा गर्नेहरूलाई प्रश्न समेत गरेका छन् । ‘कसले किन लुकाई राखेका छन् जिबी राईलाई हामीलाई जबाफ चाहिएको छ, जिबी राईलाई पक्राउ गरी ल्याउँदा कसलाई नाफा नोक्सान हुन्छ त्यसको हिसाब किताब यो राज्य सरकारले गरिदिनु पर्‍यो’, उनीहरूले भनेका छन्, ‘हामी कति समय पीडामा बस्ने हो, हाम्रो यो सहकारीको समस्या कहिले समाधान हुन्छ यसको मिति पनि यो राज्य सरकारले तय गरिदिनु पर्‍यो ।’

गलत नियत भएका मान्छेले सुनियोजित ढंगले सहकारीको वचत दुरुपयोग गर्दा हजारौंले विगतमा आफैंले जम्मा गरेको रकम आफू संकटमा पर्दा फिर्ता पाउन नसकेको उनको भाइ छ ।

‘यसमा जो जसको संलग्नता भए पनि कानुनी दायरामा ल्याई वचत फिर्ताक्को वातावरण बनाइदिनुपर्‍यो । छानबिन र कारबाही सहकारी सञ्चालकमात्र होइन, सम्बन्धित नियामक निकायलाई पनि हुनुपर्छ’, अध्यक्ष श्रेष्ठले ज्ञापनपत्रमा भनेका छन्, ‘वचतकर्ता पीडित हुनुमा नियामक निकायको पनि दोष देखिन्छ ।’