अर्थ पूँजी बजार

ठुलो संख्यामा आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, करिब १० लाखलाई पर्ने

काठमाडौं, साउन १५ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाउने भएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता साधराण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । अब सर्वसाधारणले २ हजार ५७० रुपैयाँमा १० कित्ताका लागी आवेदन दिन सक्छन् ।

कम्पनीले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर प्रिमियम सहित निष्कासन गर्ने स्वीकृति पाएको थियो । जसमध्ये सार्वजनिक निष्कासन हुने सेयरको १० प्रतिशतले हुने १२ लाख कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। आईपीओ ९ लाख ६० हजार जनालाई १० कित्ताका दरले हात पर्ने निश्चित छ ।

यो आईपीओ खरीदका लागि छिटो अवधि साउन २३ देखि २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि भदौ ५ गतेसम्म विक्री लम्बिनेछ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म माग गर्न सकिनेछ । 

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले समयमानै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्ययम स्तरको सुरक्षित कम्पनी मानिने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीकोे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिनेछ ।