अर्थ समाचार

नेपाल सरकारद्वारा आइतबार काठमाडौंमा आयोजित दुईदिवसीय तेस्रो लगानी सम्मेलनका सहभागी 

काठमाडौं, बैशाख १७। सरकार, प्रमुख प्रतिपक्ष दल र निजी क्षेत्रले नेपालमा लगानी गरी अवसरहरूको सदुपयोग गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूसँग आह्वान गरेका छन् ।

आइतबारदेखि काठमाडौंमा सुरु तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र निजी क्षेत्रका प्रतिनिधिले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आवश्यक सबै वातावरण बनाउन र सहकार्य गर्न तयार रहेकोसमेत सुनाए ।


प्रधानमन्त्री प्रचण्डले नेपाल विश्वकै एक प्रमुख लगानी गन्तव्यको रूपमा उदाइरहेको भन्दै लगानीका लागि अन्तर्राष्ट्रिय लगानीकर्तासँग आह्वान गरेका छन् । आइतबारदेखि काठमाडौंमा सुरु तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वभरका लगानीकर्ताका लागि नेपालमा प्रशस्त अवसर रहेको सुनाएका छन् । 

नेपालमा उपयोग नभएका अपार सम्भावना र अवसरको केन्द्रमा उभिएर देशले लगानीकर्ताहरूलाई स्वागत गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए । ‘हाम्रा उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहित गर्छ, दक्ष जनशक्ति र कम श्रम लागत अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि अर्को अकर्षण हो,’ उनले भने, ‘स्वदेशी तथा विदेशी लगानीकर्तालाई गरिने गैर–भेदभावपूर्ण व्यवहारको प्रावधान र विदेशी मुद्रामा नाफा लैजान पाउने सुनिश्चितताले नेपालमा लगानीको आकर्षणलाई अझ बढाउँछ । नेपालको उदार आर्थिक नीतिप्रतिको अटल प्रतिबद्धता नै जीवन्त र लगानीमैत्री वातावरणको जग हो ।’

देशमा लगानीमैत्री वातावरण निर्माण गर्न हालै व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठवटा कानुन परिमार्जन गरेको प्रधानमन्त्रीको भनाइ छ । ‘यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउनेछ, लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीहरूलाई सहजता प्रदान गर्न हामी निरन्तर ऐन–कानुन सुधार गर्न दृढ छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने । 

नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्त रहने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायत धेरै प्रोत्साहन प्रदान गरेको प्रधानमन्त्री प्रचण्डले बताए । सरकारले हालै स्वीकृत गरेको द्विपक्षीय लगानी सम्झौता (बिआइए) ले द्विपक्षीय लगानीको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखेको उनको भनाइ थियो । ‘म सबै मित्रराष्ट्रहरूलाई चाँडोभन्दा चाँडो बिआइएमा हस्ताक्षर गर्न प्रोत्साहित गर्छु,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी लगानीकर्तालाई ऊर्जा, पर्यटन, कृषि, उत्पादन, सूचना प्रविधि, गार्मेन्ट, कृषि प्रशोधन, पूर्वाधार, उच्च मूल्यका बाली उत्पादनलगायत विभिन्न क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको जानकारी गराए । नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसर रहेको पनि उनले लगानीकर्तालाई अवगत गराए । ‘उदीयमान बजार भारत र चीनबीचमा अवस्थित नेपालको रणनीतिक स्थानका कारण पनि नेपाल लगानीका लागि उपयुक्त गन्तव्य हो भन्ने संकेत गर्छ,’ उनले भने, ‘बजारमा शुल्कमुक्त पहुँच, क्षेत्रीय सम्झौताहरू एवं स्वतन्त्र व्यापार सम्झौताले पनि द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित गरेको छ ।’

नेपालमा वैदेशिक लगानी रहेका कम्पनीहरू नाफामा रहेको औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले ती कम्पनीहरूले लाभांश फिर्ता लगेको अवस्थाबाट पनि नेपालमा लाभदायक लगानीको वातावरण भएको स्पष्ट हुने बताए । ‘मलाई विश्वास छ– दुई दिनको यो महत्वपूर्ण सम्मेलनमा विभिन्न तहमा केही घोषणा गरिनेछन्, यसले सरकार–सरकार, सरकार–व्यवसाय र व्यवसाय–सरकारको तहमा नेपाललाई विश्वव्यापी लगानी गन्तव्यको रूपमा प्रस्तुत गर्नेछ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालमा ढुक्कसँग लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरेका छन् । ‘नेपालमा विदेशी लगानी दाभदायक छ भन्ने प्रमाणहरू देखाउन धेरै विश्वसनीय उदाहरण छन्, नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीहरूले वर्षौँदेखि राम्रो लाभांश फिर्ता लैजान सकेका छन्,’ उनले भने, ‘कृपया तपाईंहरू पनि नेपाल आउनुहोस्, नेपालमा लगानी गर्नुहोस्, जुन तपाईं र हामी दुवैका लागि फाइदाजनक हुनेछ, हामी तपाईंहरूलाई पूर्ण संरक्षण प्रदान गर्नेछौँ, साथै नेपालको विकास र समृद्धिका लागि हाम्रो साझेदारीलाई महत्वपूर्ण रूपमा पनि लिनेछौँ, तपाईंको योगदानले नेपाललाई आर्थिक समृद्धि हासिल गर्न पनि मद्दत पुग्नेछ ।’ 

विगतमा जस्तै आगामी दिनमा पनि कांग्रेसले मुलुकमा विदेशी लगानी भित्र्याउन भूमिका खेल्ने देउवाको भनाइ छ । ‘कांग्रेस नेतृत्वको सरकारले सन् १९९० मा अर्थतन्त्र सुधारको प्रक्रिया सुरु गरेको थियो, निजी क्षेत्रलाई आमन्त्रित ग¥यो र विदेशी लगानीका लागि उचित वातावरण पनि बनाएको थियो,’ उनले भने, ‘त्यो छोटो अवधिमा कांग्रेस सरकारले नीतिहरू पुनर्संरचना गर्‍यो, पुराना कानुनहरू संशोधनदेखि नयाँ कानुन ल्याउने काम भयो । सार्वजनिक खर्चलाई व्यवस्थित बनाउनुका साथै उदार कर प्रणालीको थालनी गर्‍यो, आगामी दिनमा पनि लगानीमैत्री वातावरण निर्माणका लागि कांग्रेस तयार छ ।’ देशमा लगानीको वातावरण बनाउन सबै दल मिलेर अगाडि बढ्ने पनि उनले आश्वस्त गराए । 

नेपालमा करिब सबै क्षेत्र विदेशी लगानीका लागि खुला रहेको पनि देउवाले विदेशी लगानीकर्तालाई जानकारी गराए । विदेशी लगानीलाई नेपालको कानुन र विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामार्फत संरक्षित गरिएको पनि उनले बताए । नेपालमा विदेशी लगानी प्रवद्र्धन गर्ने र लगानीसम्बन्धी समस्या समाधान गर्ने सम्बन्धमा सबै राजनीतिक दल प्रतिबद्ध रहेको पनि उनले बताए । कांग्रेस पुरानो लोकतान्त्रिक पार्टी हो, जसले उदार आर्थिक नीति अनुसरण गर्छ ।

अर्थमन्त्री वर्षमान पुनले अध्यादेशमार्फत आठवटा कानुन संशोधन गरेर सरकार लगानीमैत्री वातावरण निर्माणका लागि दृढ प्रतिबद्ध रहेको सन्देश दिएको बताए । यो काम निजी क्षेत्रको परामर्शमा गरेको उनले विश्वभरबाट आएका लगानीकर्तालाई जानकारी गराए । उनले भने, ‘नेपालले कानुनी र नियामकीय सुधार र प्रक्रियागत सरलीकरणमार्फत देशको व्यावसायिक वातावरण सुधार गर्न काम गरिरहेको छ, विवाद समाधान गर्ने संयन्त्र पनि रहेको छ ।’

लगानी सम्मेलनको ‘नेपालमा लगानीको वातावरण’ विषयक सत्रमा बोल्दै अर्थमन्त्री पुनले नेपाल दुई ठूला अर्थतन्त्र चीन र भारतको बीचमा रहेको र यसले नेपालमा स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर प्रदान गर्ने बताए । विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐनले आवेदन दिएको सात दिनभित्र प्रत्यक्ष विदेशी लगानीको स्वीकृति प्राप्त हुने व्यवस्था गरेको पनि बताए । सो ऐनले नाफा फिर्ता स्वीकृति १५ दिनभित्र दिइने व्यवस्था गरेको छ । 

‘नेपालको कानुनले विदेशी कम्पनीलाई कुनै पनि कारणले राष्ट्रियकरण नगरिने ग्यारेन्टी दिएको छ,’ अर्थमन्त्री पुनले भने, ‘नेपालले केही देशहरूसँग द्विपक्षीय लगानी सम्झौता र दोहोरो कर परित्याग सम्झौता गरेको छ भने भर्खरै द्विपक्षीय लगानी सम्झौता (बिआइए) को मोडेल फ्रेमवर्क स्वीकृत गरेको छ । नेपालमा लगानी गरेर अवसरको फाइदा उठाउन लगानीकर्तालाई अनुरोध गर्दछु ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्तालाई आग्रह गरे । नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै उनले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरूमा लगानीको सम्भावना रहेको बताए । 

उनले अध्यादेशमार्फत लगानीका लागि बाधक ठानिएका केही पुराना कानुनहरू संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासंघसँगको सहकार्यमा सरकार देशमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरे । देशमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको जानकारी गराए । 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले देशमा लगानीको वातावरण बन्दै गइरहेको बताए । नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको र प्रतिफल पनि सुनिश्चित रहेको जानकारी गराउँदै उनले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वानसमेत गरे । नेपालको ऊर्जा, पर्यटन, कृषि, उद्योग, पूर्वाधार, सूचना प्रविधिदेखि शिक्षा क्षेत्रसम्म लगानीको सम्भवना रहेको उनले बताए ।

‘नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदामा धनी छ, साहसिक पर्यटनमा विश्वकै गन्तव्य बन्न सक्छ, नेपालले आइटी क्षेत्रमा राम्रो गर्दै गइरहेको छ, आइटी सेवा निर्यातसमेत सुरु भइसकेको छ,’ उनले भने, ‘नेपालमा लगानीको वातावरण बनाउन सरकारले नीतिगत र कानुनी सुधारको प्रयास थालेको छ, सरकारले निजी क्षेत्रलाई समेत विश्वासमा लिएर काम गरिरहेको छ ।’ देशमा लगानी प्रवद्र्धनका लागि यो लगानी सम्मेलनलाई अधिकतम सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो ।

 नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए । उनले विश्वको तुलनामा सस्तो श्रमशक्ति, छिमेकी भारत र चीनको उपभोक्ता बजारलगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको विश्वभरका लगानीकर्तालाई जानकारी गराएका हुन् । आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हिँड्न नसकिने भन्दै उनले संयुक्त लगानीका लागि आह्वानसमेत गर्नुभयो ।

विदेशी लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्न कानुनी वातावरणसँगै लाभयुक्त परियोजनाहरू छनोट गरेको उनले बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि सहज आवागमन, प्रतिफलको सुनिश्चितता र सहज बहिर्गमनको व्यवस्था एकद्वार नीतिबाटै गरिएको छ ।’ लगानी सम्मेलनमा चेम्बरका तर्फबाट करिब एक दर्जन आयोजनालाई सोकेसका रूपमा राखिएको छ । 

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताएका छन् । उनले सरकारी नीतिमा स्थिरता रहेको, भारत र चीनजस्ता ठूला बजार, उद्योग सञ्चालनमा श्रमिकको समस्या नरहेको, मुनाफा आर्जन गरेर लैजान पाउने कानुनी व्यवस्था रहेकोलगायत कारण देखाउँदै विदेशीहरूलाई नेपालमा ठूलो मात्रामा लगानी ल्याउन आग्रह गरेका हुन् । 

पार्टीहरूबीच राजनीतिक विचारधारा फरक भए पनि सम्बन्ध राम्रो रहेको भन्दै लगानीकर्ताले अन्योलमा रहनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘विचारधारा फरक भए पनि हामी एकताबद्ध भएर काम गर्छौँ । सरकारमा भए पनि नभए पनि हाम्रो एउटै धारणा हुन्छ । नीति र कानुनमा स्थिरता छ,’ उनले भने, ‘लगानीमैत्री वातावरणका लागि कानुनमा सुधार गरिएको छ । लगानीका लागि यहाँ धेरै अवसर छन्, अवसरको सदुपयोग गर्न आग्रह गर्छौँ ।’ नेपालमा व्यक्तिगत रूपमा सानो लगानीभन्दा पनि व्यावसायिक रूपमा ठूलो लगानीको खाँचो रहेको उनले औँल्याए ।