देश फिचर न्युज

राष्ट्रवादको उल्झन र मौन गणतन्त्र

काठमाडौं, बैशाख १४। शासक वर्गबाट विभिन्न समुदायमाथि गरिएको दमन र अत्याचारकोे इतिहासले विद्यालयदेखि विश्वविद्यालयसम्म स्थान पाउन सकेको छैन । कुनै राजा–रजौटाको जित र हारको कथा पढ्न नागरिक बाध्य छन् भने हाम्रो गणतन्त्र यस्तो झुटो इतिहासप्रति मौन छ ।  

गत पुस १६ गते धोती दिवस मनाउन माइतीघरमण्डलमा भेला भएकाहरूलाई प्रहरीले हस्तक्षेप गर्यो । हस्तक्षेप राज्यको लागि नौलो भने थिएन । सोही दिन एकथरी मानिसले धुमधामका साथ ढाकाटोपी दिवस मनायो । धोतीलाई ‘अ’राष्ट्रिय र टोपीलाई राष्ट्रिय देख्ने जमात सानो छैन ।

गोरखाका राजा पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारको अभियानदेखि हालसम्म कुनै न कुनै ढंगबाट उत्पीडित समुदाय माथि राज्यको हस्तक्षेप जारी नै छ । जंगबहादुरले १९१० सालमा जारी गरेको मुलुकी ऐनले कानुनी रूपमै उत्पीडनको जग बसाले । त्यसैको निरन्तरतामा ‘पहाडिया राष्ट्रवाद’लाई बलियो बनाउन राजा महेन्द्रले सिंगो ३० वर्ष खर्चिए ।

गणतन्त्रसम्म आउँदा पनि महेन्द्रीय राष्ट्रवादको मृत भूतले तर्साइराख्नुको पछाडि त्यही राष्ट्रवादको भाष्यले नै काम गरिरहेको छ । यस्तो राष्ट्रवादमा एउटा जात, लिंग र भाषालाई बलशाली बनाइन्छ भने अन्य दबाइन्छ । दौरा–सुरुवाल, ढाकाटोपी, लालीगुराँस, गाई, हिमाल, झरना सबै पक्षलाई महेन्द्रले राष्ट्रियताको प्रतीकको रूपमा पञ्चायती व्यवस्थाको अभ्यासको क्रममा स्थापित गरे ।

यस्तो राष्ट्रवादको भाष्य यति बलियो छ कि त्यसको जगलाई गणतन्त्रले समेत हल्लाउन सकेको छैन । आज पनि महेन्द्रीय राष्ट्रियताको प्रतीकहरूलाई अस्वीकार गर्नेहरू अराजक र ‘अ’राष्ट्रिय तत्वको रूपमा गनिनु त्यसैको उपज हो ।

नेपालको व्यवस्थित इतिहास लेखन २००७ सालपछि भएको पाइन्छ । त्यो पनि दरबारभित्रैबाट लेखियो र अधिकांश इतिहास लेखन पञ्चायतकालमै भयो ।

पृथ्वीनारायणको राज्य एकीकरण, राजसंस्था, हिन्दु धर्म, दौरा–सुरुवाल, ढाकाटोपी आदि नै इतिहास लेखनको मुख्य सेरोफेरो थियो । शासक वर्गबाट विभिन्न समुदायमाथि गरिएको दमन र अत्याचारकोे इतिहासले विद्यालयदेखि विश्वविद्यालयसम्म स्थान पाउन सकेको छैन । त्यस्ता इतिहासले वैधानिकता पाउँदैन । कुनै राजा–रजौटाको जित र हारको कथा पढ्न हामी बाध्य छौं । वास्तविकता बारे हाम्रो इतिहास आज पनि मौन छ ।

१८५० सालतिर एक हजार जनसङ्ख्या सानो होइन । त्यतिबेला तामाङहरूले राज्यविरुद्ध गरेको ठूलो विद्रोहमा एक हजार जनाभन्दा बढी तामाङ काटिनुपर्यो । (दिक्पाल, राजकुमार, आदिवासी विद्रोहको इतिहास, पृष्ठ. ३५) ।

गणतन्त्रमा समेत यी इतिहासहरू पाठ्यक्रममा समावेश हुन नसक्नुको कारण के हो ? दशैं नमानेको भन्दै, १९३३ सालमा धनकुटाको रामलिहाङ र रिदाम आठपहरिया राईलाई दिएको मृत्युदण्डको विषयमा विद्यालय वा विश्वविद्यालयको पाठ्यक्रममा कहिल्यै समावेश गरिएला ? पञ्चायतमा एकोहोरो लेखिएको इतिहासको आजसम्म पनि शासन उत्तिकै छ ।

१९६६ सालताका बाङ्गे सार्की आफ्नो घरायसी सामग्री लिन भारतको शहर बेतिया पुगेको समयमा ब्रिटिश अफिसरले उनलाई ठूला आश्वासनहरू दिंदै नेपाल जाने बाटो देखाउन आग्रह गरे । उनले लोभको पछि नलागी आफ्नो मातृभूमिप्रति लगाव देखाउँदै ब्रिटिश अफिसरको आदेश अस्वीकार गर्दा मृत्युवरण नै गर्नुपर्यो । तर, सत्ताको भागेदारीमा दलितहरूले कहिल्यै स्थान पाएनन् ।

धर्मशास्त्रको व्याख्या गर्नेहरू देशको महान् हस्तीका रूपमा इतिहासका पानामा स्थान ओगट्न सफल रहे । पृथ्वीनारायणको गोरखा विस्तार अभियानमा दलितहरू बिसे नगर्ची, जसवीर कामी, मणिराम गाइने, कालु सार्की, बाङ्गे सार्की आदिको भूमिका पनि महत्वपूर्ण थियो । उनीहरूको इतिहास पञ्चायतको हुरीले रद्दीको टोकरीमा फालिदिए । हाम्रो गणतन्त्र त्यसबारे मौन छ ।

मधेशीको इतिहास त झनै नामेट पारिएको छ । मधेशीलाई २०११ सालसम्म शिवरात्रिमा (७ दिन) बाहेक अन्य समय उपत्यका पस्ने अनुमति थिएन । आउनै परे भिसा लगाउनुपर्ने प्रावधान थियो । एउटै देशभित्र बसेर पनि राजधानी आउन समेत अनुमति लिनुपर्ने कस्तो विडम्बना ? गणतन्त्रमा इतिहास यस बारे किन मौन छ ?

महेन्द्रीय राष्ट्रवादले मधेशीलाई नेपाली मान्दैनथ्यो र नेपाली भाषा बोल्न नजानेको बहानामा नागरिकता दिंदैनथ्यो । आम मधेशीको भाषालाई आज पनि नेपाली मानिएन । महेन्द्रीय राष्ट्रवादका अनुयायीहरूलाई आज पनि त्यसैकारण मधेशी, आदिवासी, जनजाति लगायतले अधिकार माग्दा विखण्डनको डरले सताउँछ । महेन्द्रको पालामा चलेको राष्ट्रवादको रोपाइँ आजसम्म लहलह झुलिरहेकै छ । (पाठक, युग माङ्गेना, पृष्ठ. २१०) ।

गीत, संगीत र साहित्यमा राष्ट्रवाद

राष्ट्रियता बलियो बनाउने नाममा गीत–संगीत र साहित्यको माध्यमबाट पञ्चायतकालमा उत्पीडित समुदायमाथि चर्काे प्रहार सुरु भयो । महेन्द्रले २०२४ सालमा चलाएको गाउँ फर्क राष्ट्रिय अभियानले आदिवासी जनजाति, दलित, मधेशीलाई प्रत्यक्ष रूपमा दबाउन महत्वपूर्ण भूमिका निर्वाह गर्यो । कर्मचारी लगाएर, गाउँलेलाई नेपालको महानता र गोरखाली वीर गाथा सिकाउने, नेपाली भाषा बोल्न र साहित्य पढ्न प्रोत्साहन गर्ने, राजतन्त्रको महिमा गाउन लगाउने ।

साहित्य दरबारबाट संरक्षण पाएका मानिसहरूलाई मात्र लेख्ने अधिकार थियो । गीत, संगीत र साहित्यको सेरोफेरो पनि हिमाल, पहाड, लालीगुराँस, डाँफे, झरना, दौरा–सुरुवाल, ढाकाटोपी मात्रै बन्यो । गणतन्त्रसम्म आइपुग्दा पनि दौरा–सुरुवालको हैसियत धोतीले, गाईको गैंडाले, लालीगुराँसको सयपत्रीले, डाँफेको मैनाले समान हैसियत पाउन सकेन ।

रेडियो नेपाल, गोरखापत्रले उनैको साहित्य, गीत, संगीतहरूलाई प्राथमिकता दिन थाले । स्वदेश गानको रूपमा बजाउने प्रचलन थियो । निश्चित गीत मात्रै बारम्बार बजाइराख्दा, जबर्जस्त मन पर्नु स्वाभाविक थियो । महेन्द्रीय राष्ट्रवाद निर्माणको अभियानमा त्यस समयका साहित्यकार, कवि, संगीतकारहरूको महत्वपूर्ण योगदान रह्यो ।

राष्ट्रिय गीत लेख्ने र गाउने प्रचलन पनि पञ्चायती समयमा नै भयो । प्रज्ञा प्रतिष्ठान, नाचघर गठन गरे । अनि त्यही स्कुलको उत्कर्षमा लेखियो— ‘चौतारीमा राजा भेटियो’ । बालकृष्ण समहरूले लेखे– ‘हाम्रो राजा हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष !’नेवार कवि–लेखकले नेपालभाषाको साहित्यिक आन्दोलन चलाउँदा २०२२ सालको काण्ड भयो । कविहरू जेल परे । आरोप थियो– नेपालभाषामा लेखेर उनीहरूले राष्ट्रियतामा खतरा पैदा गरे । (पाठक, उही, पृष्ठ. २१०) ।

संविधानमा राष्ट्रवाद

१९१० सालमा जंगबहादुरले मुलुकी ऐन निर्माण गरेर जात प्रथाको बीजारोपण कानुनी रूपमै गर्यो । विभाजित नभएका जनजातिहरूलाई समेत मासिन्या र नमासिन्या गरी दुई भागमा विभाजन गरिदियो । दलित र मधेशीलाई नागरिकको दर्जा नै दिएन । त्यसपछि विभिन्न समयमा निर्माण भएका संविधानहरू समेत त्यसैको जगमा निर्माण हुँदै आयो ।

२०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि काठमाडौं महानगरपालिका र राजविराज नगरपालिकाले स्थानीय भाषामा कामकाज सुरु गरेका थिए । पछि सर्वाेच्चले उक्त निर्णयलाई कार्यान्वयनमा प्रतिबन्ध लगाइदियो । गणतन्त्रमा, नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले पद तथा गोपनीयताको शपथ हिन्दी भाषामा लिएपछि विवाद सर्वाेच्चमा पुग्यो ।

अदालतले उनको शपथलाई अमान्य घोषणा गरेपछि केही समय सो पद निष्क्रिय रह्यो । अन्ततः अन्तरिम संविधान, २०६३ मा गरिएको सातौं संशोधनमा मातृभाषामा शपथ लिनसक्ने व्यवस्था भएपछि संकट टरेको थियो ।

अन्तरिम संविधान २०६३ जारी भएसँगै नयाँ संविधानले नयाँ राष्ट्रिय गानलाई वैधानिकता दियो । तर २५० वर्ष अघिदेखिको उत्पीडनको मलम लगाउन नपाउँदै शासकहरू हतारिए । अनि राष्ट्रिय गानको रचना गरियो, ‘सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली’ । दुई शताब्दी भन्दा धेरै समयसम्म उम्रन पनि नपाएको फूललाई सदियौंदेखि फक्रँदै आएको फूलसँग माला गाँस्न किन हतार गरियो ? अनि त्यहींबाट पुनः सुरु भयो राष्ट्रियता माथि अर्काे प्रहार ।

मनोविज्ञानमा राष्ट्रवाद

मधेशीलाई विहारी देख्ने, दलितलाई नागरिकको दर्जा नदिने, मनोविज्ञानको पछाडि यही एकाकी राष्ट्रवादको भूमिका महत्वपूर्ण छ । आज पनि काठमाडौंको सडक र गल्लीहरूमा सभा, समारोहमा मधेशीको भीड देख्यो भने पैसामा किनेको देख्ने मनोविज्ञानको जग नै महेन्द्रीय राष्ट्रवादको हो । लुम्बिनी र जनकपुरको सभ्यता नेपाली हुने अनि त्यही थातथलो बचाएर बसेका मधेशीहरूलाई विहारी देख्ने पहाडिया राष्ट्रवादको कमजोर मनोवैज्ञानिक आँखाको उपचार हाम्रो गणतन्त्रले किन गर्न सकेन ? प्रश्न भावनात्मक मात्र होइन, उत्तिकै सैद्धान्तिक छ ।

ढाकाटोपी र दौरा–सुरुवाल लगाउनेहरू भलाद्मी र इमानदार हुन्छन् भन्ने दृष्टिकोणको पछाडि यही प्रकारको राष्ट्रवादको भूमिका प्रष्टै देखिन्छ । पञ्चायतकालमा ढाकाटोपी लगाएको फोटो र नेपाली भाषा बोल्न नसक्नेलाई नागरिकता नदिने अघोषित नियम बनाइयो । नागरिकतामा ढाकाटोपी अनिवार्य गर्नु नै जबर्जस्त लादिएको महेन्द्रीय राष्ट्रवाद थियो ।

यसरी विजयी जातिलाई केन्द्रमा राखेर महेन्द्रले पृथ्वीनारायण, एकीकरण, राजसंस्था र हिन्दु धर्मको राम्रै संरक्षण गरे । त्यसैको जगमा यस्तो एकाकी राष्ट्रवादको मनोवैज्ञानिक जग बस्न गयो ।

परिवर्तनमा राष्ट्रवाद

पछिल्लो समय परिवर्तनको श्रेय १० वर्षे माओवादी युद्धलाई नै जान्छ । नेपालको इतिहासमा जनस्तरबाटै भएको माओवादी आन्दोलन संसदीय अभ्यासमा मरीच जस्तो खुम्चिएको छ । नेतृत्वको गतिविधि र आन्दोलनको एजेन्डा हेर्दा माओवादी आन्दोलनले पश्चगमनकै यात्रा समातेको छ ।

प्रचण्ड र उनले नेतृत्व गरेको माओवादी शान्ति प्रक्रिया पश्चात् निरन्तर कमजोर स्थितिमा छ । जनताले गतिशीलहरूसँग अपेक्षा राख्नु स्वाभाविक रहन्छ ।

संविधान घोषणा भएलगत्तै प्रचण्डले टुँडिखेलमा माधवप्रसाद घिमिरेको गीत ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ उच्चारण गर्न भ्याए । यो राजा महेन्द्रले आफ्नो भाषणमा बारम्बार उच्चारण गर्ने पङ्क्ति थियो । गणतन्त्रको आँधी सिर्जना गर्न हिंडेको नेतृत्वले भावनामा आएर त्यो शब्द उच्चारण गर्नुका पछाडि उल्टो रूपान्तरण जिम्मेवार छ ।

एकपछि अर्काे घटनाक्रमहरू नियाल्दा गर्दा १० वर्षे सङ्घर्ष साँच्चै परिवर्तनको लागि थियो कि उत्पीडित समुदायलाई भावनामा ल्याएर युद्धमा सामेल गराउनु थियो ? यो विषय वास्तवमै खुल्ला बहसको पाटो बनेको छ ।

अन्त्यमा, विचारभन्दा माथि देश, राजा आऊ देश बचाऊ भन्नेहरू, गेरुबस्त्र धारण गर्ने कम्युनिस्टहरू त्यही एकाकी राष्ट्रवादको प्रशंसक नै हुन् भन्नेमा कुनै शंका नहोला ।