फिचर न्युज राजनीति

संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य गर्ने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं, चैत ३०। संसद्‍को हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो। बैशाख २ गते राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।

त्यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियाे । सरकारले विजनेश नै नपाएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले ‘अधिवेशन अन्त्य हुन्छ, फेरि अर्को सुरू हुन्छ यस्तै हो । कांग्रेसले चल्न दिएन ।’ कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएको छ । साेही कारण वैशाख २ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ।