देश समाचार

पहिरोमा परी ७ वर्षीय बालकको ज्यान गयो

उदयपुर, ११ भदौ । अविरलको वर्षापछि आएको पहिरोले उदयपुरमा ७ वर्षीय बालकको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ मिलन चौकका पोष्टबहादुर मगरको छोरा ७ वर्षीय कर्ण मगरको पहिरोमा परी ज्यान गएको हो ।

शुक्रबार दिउँसो घर नजिकैको आँप खहरे खोलामा खेल्ने क्रममा माथिबाट अचानक पहिरो खसेर बालक गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बालकको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएर कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।