अर्थ फिचर न्यूज

उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

२५ असार २०८१, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो । 

सोमबार बसेको महासङ्घको कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो । 

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार कार्यसमिति बैठकले सर्वसम्मत रूपमा विधान पारित गरेको र अबदेखि अध्यक्ष निर्वाचनबाट चयन हुने जानकारी दिए । यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष भएपछिको अर्को कार्यकालपछि लागू हुने भएको छ । 

संशोधित विधानमा दुईजना वरिष्ठ उपाध्यक्ष र हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । संशोधित विधान आगामी मङ्सिर मसान्तभित्र महासङ्घको विशेष साधारण सभाले पारित गर्नुपर्ने व्यवस्था छ ।