समाचार स्थानीय तह

स्थानीय युवाहरुले मुगु खोला उत्खननमा लगाए रोक

केराबारी, चैत २५ । केराबारी गाउँपालिकाले ठेक्का लगाएर सुरु गरेको उत्खनन कार्य बन्द गर्न माग गर्दै केराबारी ६ र ७ का स्थानीय युवाहरुले मुगु खोला उत्खननमा रोक लगाएका छन् ।

खोला ठेक्का लगाएर बुधबार देखि उत्खनन सुरु गरेपनि भूक्षय, बाढीपहिरो रोकथामका लागि कुनै प्रयास नगरेको भन्दै दर्जन वढी संख्यामा उपस्थित भएका वडाका युवाहरुले उत्खननमा रोक लगाएका हुन् ।

मुगु खोलाको उत्तरपटि ढुंगा गिटी बालुवा वस्तीको सतहभन्दा अग्लो सतहसम्म डिपोजित भएका कारण वस्ती जोखिममा परेको जनाउँदै गाउँपालिकाले खोला ठेक्का लगाएको थियो । विराटनगरको एक कम्पनीले १ करोड २० लाखमा खोला ठेक्का लिएको थियो ।

६ र ७ नम्बर वडाको सिमास्थलमा रहेको मुगु खोला उत्तर पटि वर्षेनी खोला उत्खनन गरेपनि खोलाको पैसा खोलाको संरक्षण गर्नुभन्दा अन्यत्र खर्च हुने केही व्यक्ति मोटाउँने, जनताले सास्ती खेप्नु परेकोले उत्खननमा रोक लगाइएको स्थानीय युवा कपिल लिम्बूले बताए ।

मुगु खोला पुलको उत्तर पश्चिम क्षेत्रमा जनता सामुदायिक वन समुह रहेकोछ, उत्तर पूर्व क्षेत्रमा वडा नं.४ को खोलाघारी, ७ को नर्कटे, ओखलढुंगा र मगु वस्ती रहेको छ । उत्तरपुर्व क्षेत्रमा रहेका वस्तीहरु वर्षेनी वाढीको समस्या भोग्नुपर्ने अवस्था आएपनि स्थानीय सरकारले वस्ती संरक्षणमा ध्यान नदिएको खोलाको पुर्वपश्चिम क्षेत्रमा तटबन्ध लगाएतको कार्य नगरेपछि उत्खननमा रोक लगाइएको स्थानीय युवा कपिल लिम्बूले बताए ।

युवाहरुले तत्काल उत्खनन गर्न कुनै सहमति नगर्ने बताएका छन् । वर्षौदेखि खोला उत्खनन गरेपनि खोला संरक्षणमा खासै लगानी नगरेको भन्दै वस्ती भन्दा वढी डिपोजिट भएको खोलानन्य पदार्थ त्यही खोला किनारमा डिपोजित गर्ने र जाली तटबन्ध लगाउन सहमति भएमात्र उत्खनन गर्न सहमति दिने स्थानीय युवाहरुले वताएका छन्

खोला उत्खनन रोक लगाएपछि पालिकाका प्रवक्ता नारायण भूजेल र पालिका अध्यक्ष सुमन मगर मिरिंगचिंग समेत स्थलगत निरिक्षणमा पुगेका थिए । खोला ठेक्का लागेको क्षेत्रमा उत्खननमा रोक नलगाउन आग्रह गरेका थिए ।