समाचार

केराबारीका मासु व्यवसायीहरुले अब आफूखुशी मूल्य बृद्धि गर्न नपाउने

केराबारी, माघ २६ । उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै केराबारी गाउँपालिकाले पहिलो पटक उपभोक्ताहरुको हितमा निर्णय गरेको छ ।

मासु जन्य पदार्थमा भइरहेको मुल्य वृद्धि र दरभाउमा एकरुपता ल्याउन पालिकाले अग्रसरता देखाउदै सोमबार एक कार्यक्रमको आयोजना गरी व्यवसायीहरुसंग छलफल चलाउदै उपभोक्ताको हितमा निर्णय गरेको हो ।

केराबारीमा वढ्दो मासुको मुल्य कम गर्न र दरभाउमा एकरुपमा ल्याउन सोमबार मासु व्यवसायीहरुसंग छलफल र सहमति बनेसंगै अब व्यवसायीहरुले आफूखुशी मासुको दर भाउ तोक्न र वढाउन नपाउने भएका छ्न ।

अनाधिकृत, आफुखुशी मासु व्यवसायीहरुले मनोमानी मासुको दरभाउ वढाएको जन्दै उपभोक्ताहरुले पालिकामा मुल्य निर्धारण हुनुपर्ने माग गर्दै लिखित उजुरी दिएपछि उपभोक्ताको हितलाई मध्यनजर गर्दै पालिकाले छलफल चलाएको हो ।

मूल्य निर्धारण समिति
छलफल पछि मासुजन्य पदार्थको अनिवार्य मुल्यसूचि राखिनुपर्ने, मासुको खरिद विक्री दरभाउमा एकरुपता ल्याउँने सहमति भएको र मूल्य निर्धारण समिति गठन गरिएको पालिकाको सूचना अधिकृत सुवास सूवेदीले केराबारी अनलाइल खबरलाई वताएका छन् । केराबारी गाउँपालिका स्तरीय उपभोक्ता हित संरक्षण समितिको सदस्य संयोजक र केराबारी व्यापार प्रबन्ध समितिको प्रतिनीधि सदस्य रहने गरी ४ जना व्यवसायी र ३ जना उपभोक्ता रहनेगरी आजै ९ सदस्यीय मुल्य निर्धारण समिति गठन गरिएको हो ।

समितिका सदस्यहरुमा व्यवसायीहरुको तर्फबाट अगम परियार,सन्दिप राई , हेमराज तिवारी, इश्वर दर्नाल, डम्बर खतिवडालाइ छनौट गरिएको छ भने उपाभोक्ता समितिको तर्फबाट सोना राई ,सरीता राई र दिलप्रसाद लिम्बू सदस्य रहेका छन् ।