फिचर न्यूज समाचार

नेपालकै सबैभन्दा ठूलो निर्माणाधीन अरुण तेस्रो जलविद्युतकाे सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं, जेठ २२। नेपालको सबैभन्दा ठूलो निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङकाे आज ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजना निर्माण भइरहेको ठाउँमा पुगेर ९०० मेगावाटको सो आयोजनाको मंगलबार ११.८३७ किलोमिटर लम्बाईकाे सुरुङको उद्घाटन हुन् । 

भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन) ले निर्माण गरिरहेको उक्त आयोजनाको सुरुङको काम सकिएसँगै अहिले बाँध निर्माण, विद्युत् गृह लगायतको काम धमाधम भइरहेको बताइएको छ । मकालु गाउँपालिका ५ नम्बर वडाको फ्याक्सिन्दा दोभान, आम्राङ्ग, साेलाखानी, पुखुवा लागायतकाे संरचना रहि निर्माण भइरहेको यो आयाेजनाकाे काम अहिलेसम्म ७५ प्रतिशत सम्पन्न भएको कम्पनीका डेपुटी जनरल म्यानेजर रमेश चन्द्र शुलेरियाले जनकारी दिए । 

उनका अनुसार डाइभर्सन टनेलको काम १०० प्रतिशत सकिएसँगै ‘ब्रेक थ्रु’ भएको हो । हेड रेस टनेलको हेडिङ एक्स ९९.९९, बेन्चिङ एक्स ८५.२५, ओभर्ट लाइनिङ ६४.४३ र इन्भर्ट लाइनिङको काम १५. ४० प्रतिशत भन्दा बढी भइसकेको पनि कम्पनीले जानकारी दिएको छ । यस आयोजनाको बाँध उत्खननको कार्य ९९.७ र कंक्रीटिङको काम २६ प्रतिशत बटी पूरा भइसकेको बताइएको छ । 

आयोजनाको बटरफ्लाई भल्भ हाउस क्रेन निर्माणको काम सम्पन्न भइसकेको पनि कम्पनीले जनाकारी दिएको छ । ट्रान्सफर्मर हलको कन्क्रिटिङ ९०, टेल रेस टनेल (टीआरटी)को लाइनिङ ३३ पूरा भएको पनि एसजेवीए बताएको छ । यस आयोजनाबाट उत्पादन भएको विद्युत् भारतसम्म पुर्याउनकाे लागि ५९४ वटा टावरको निर्माण गर्नुपर्ने हुन्छ । जसमध्ये १६१ वटा टावर वनभित्र पर्ने बताइएको छ । मुआब्जा वितरणको काम धेरै ठाउँमा रहेका कारण प्रसारण लाइनको काम अगाडि बढ्न नसकेको कम्पनीको भनाइ छ । यद्यपि प्रसारण लाइनको काम भने सुरु भएको छैन । 

यस आयोजनाको लागि आवश्यक पर्ने ८५ प्रतिशत सडकको काम पूरा भइसकेको छ । कोशी राजमार्गको कामले तीव्रता पाएर र स्तारोन्नती भए यस आयोजनाको काम सन् २०२५ मा सक्ने लक्ष्य लिएको छ । आयोजना निर्माण गर्दा अवरोध अथवा समस्या आए निर्माणको काम ढिलाई भए समय पनि लम्बिन सक्ने कम्पनीको भनाइ छ ।  

यस आयोजनाको कूल लागत १ खर्ब ४ अर्ब रूपैयाँ रहको छ । २०७५ बैशाख २८ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँबाट यस आयोजनाको शिलान्यास गरेका थिए । 

ठेकेदार कम्पनीले अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी) स्थापना गरी काम गरिरहेको छ । आयोजनाको बाँध मकालु गाउँपालिकाको वडा नम्बर ३ र ५ तथा विद्युत् गृह चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहनेछ । यसले पाएको अनुमति अनुसार २ सय २५ मेगावाट क्षमताका चारवटा टर्बाइनमार्फत ९ सय मेगावाट उत्पादन गर्नेछ ।

वि.सं. २०७१ मंसिर १० मा आयोजना विकास सम्झौता (पीडीए) भएको यस आयोजनाको निर्माणकर्ता कम्पनी सतलजले २०६६ सालमा अरुण तेस्रोको सर्वेक्षण अनुमतिपत्र पाएको थियो । भारत सरकारसँग भएको सम्झौता अनुसार उत्पादित बिजुलीको २१ दशमलव ९ प्रतिशत बिद्युत नेपालले निःशुल्क पाउनेछ । बाँकी बिजुली भारत निर्यात हुनेछ ।

बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना नेपालको हुनेछ । त्यस बेलासम्म निःशुल्क बिजुली, रोयल्टी र अन्य कर बापत नेपाललाई वार्षिक अनुमानित १३ अर्ब ९२ करोड लाभ हुने बताइएको छ । यस आयोजनाको पीडीएमा परियोजनाले व्यवसायिक रूपमा बिजुली उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिनुपर्ने उल्लेख गरिएका छन् । पीडीएमा उल्लेख भए अनुसार आयोजनाबाट १ अर्ब ६० करोड रुपैयाँ बराबरको स्थानीयलाई सेयर दिइने छ । अहिलेसम्म आयाेजना निर्माण गर्दा ४ हजार कराेड भारतीय रुपैयाँ खर्च भएकाे छ ।