शिक्षा-स्वास्थ्य

सगरमाथामा इङ्ग्लिस स्कुलद्वारा ४ विद्यालयका ३५ शिक्षकलाई तालिम

बेलबारी, जेठ १३ । मोरङको बेलबारी १ मा रहेको सगरमाथामा इङ्ग्लिस स्कुलले निजी क्षेत्रबाट सञ्चालित मोरङ र सुनसरीका ४ विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरूलाई तालिम दिन सुरु गरेको छ ।

शनिवार सुरु भएको तालिममा लेसन प्लान, सिकाइ पद्धति, शिक्षाको उद्देश्य, केस स्टडी, मूल्याङ्कन प्रक्रिया विषयगत अनुसन्धान लगायतका विषय समावेश थिए । तालीमको दोस्रो दिनको सेसन आगामी जेठ १९ गते हुनेछ भने विभिन्न गृहकार्य तथा अभ्यास पछि प्रशिक्षार्थीहरुले रिपोर्ट तयार गरेपछि मात्रै तेस्रो दिनको तालिम गर्ने मिति तय हुने सगरमाथामा इङ्ग्लिस स्कुलका प्रधानाध्यापक इरन राईले जानकारी दिए । उनले भने ‘अहिले शिक्षकहरू विभिन्न विषयमा अध्ययन गरेर आउनु भएको हुन्छ । सबैले शिक्षा शास्त्र नपढेको अवस्थामा उहाँहरूलाई तालिम मार्फत केही सिप र सिकाइ पद्धतिबारे आधारभूत जानकारी दिने प्रयास गरेका हौँ । अर्को कुरा अहिले विज्ञान र प्रविधिको प्रयोग बढ्दो छ । हाम्रा शिक्षकहरूलाई पनि सोही अनुसार प्रविधिमैत्री बनाउने हाम्रो उद्देश्य हो ।’

तालिममा सहभागी मोरङका दुई (सगरमाथा इङ्ग्लिस स्कुल, बेलबारी–१ र बालजगत इङ्ग्लिस स्कुल, बेलबारी–९) र सुनसरीका दुई (स्काई इङ्ग्लिस स्कुल, वराहक्षेत्र–३ र स्टार इङ्ग्लिस स्कुल, वराहक्षेत्र–६) गरी  ४ विद्यालयका शिक्षकहरूलाई सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक समेत रहिसकेका अमृत आचार्य र प्रशिक्षक गणेश प्रसाद दाहालले प्रशिक्षण दिएका हुन् । तालिमबाट ३५ जना शिक्षकले लाभ लिएका छन् । 

तालिमले शिक्षकहरूको व्यक्तित्व विकास गर्ने, परम्परागत शैक्षिक विधिबाट माथि उठेर आधुनिक  शिक्षण प्रणालीको अवलम्बनमा टेवा पुर्‍याउने, उद्देश्य र अनुसन्धानमा आधारित शिक्षण विधि अँगाल्न सघाउने आयोजक सगरमाथा  स्कुलका अध्यक्ष लेखबहादुर धिमालको जिकिर छ ।