समाचार

गिरीबन्धु जस्तै १०१ कम्पनीले सट्टाभर्ना गर्न खोजेको भन्दै मेयर बालेनले सार्वजनिक गरे नाम

काठमाडौं, जेठ ८। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले झापाको गिरीबन्धु टी-इस्टेटको जग्गा सट्टापट्टा गर्न निवेदन दिएको भन्दै केपी ओली ट्रस्टसहित १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन् ।

गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिइने भएपछि यसभन्दा बढी कम्पनीले निवेदन दिएको दाबी बालेनले गरेका छन् । उनले सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेल भएको हुन सक्नेसमेत दाबी गरेका छन् ।

‘सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन्’, बालेनले भनेका छन्, ‘उनीहरूको स्वर घटेको छैन । कानुन नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ ।’

सर्वोच्च अदालतले नै जग्गा बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नू भनिसकेकोले तत्काल उक्त निर्णय कार्यान्वयण गरिहाल्न पनि बालेनले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ । त्यो रकम करोडौं हुन सक्छ । ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरूविरुद्द ठगी उजुरी सुरू गरौँ ।’

बालेनले गिरीबन्धु जग्गा प्रकरणमा तेरो मेरो भन्दै बार्गेनिङ गर्नुभन्दा तत्काल आवश्यक पहलकदमी लिन पनि सुझाव दिएका छन् ।