न्याय-अन्याय समाचार

ट्राफिक प्रहरीको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक

काठमाडौं, जेठ ६।  नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।

जिल्ला प्रहरी परिसर, टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले भने, ‘विभिन्न भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गरेका छौं ।’

पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।

उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको थियो । पक्राउ गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर समेत गरेको थियो ।

उनीहरू सबै लागुऔषध प्रयोगकर्ता हुन् । गएको शुक्रबार तारकेश्वर नगरपालिका—९, मनमैंजुमा एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्ये अवस्थामा मृत फेला परेका थिए । त्यो घरलाई लागुऔषध प्रयोगकर्ताहरूले अखडा बनाएका थिए ।

प्रहरीका अनुसार प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको थियो । खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए ।