फिचर न्यूज

विदेश भ्रमण छोट्याएर उपेन्द्र यादव काठमाडौं फर्किंदै

काठमाडौं, बैशाख २४। पार्टी विभाजनको सूचना पाएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमण छोट्याएर आज काठमाडौं फर्किंदै छन् । उनी कतारको राजधानी दोहाबाट आज राति काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।

वर्तमान सरकारमा स्वास्थ्यमन्त्री समेत रहेका यादव गत हप्ता अमेरिका भ्रमणमा गएका थिए । अमेरिकामा पाँच दिन र कतारमा दुई दिनको कार्यक्रम थियो ।

उनी कतार अमेरिकाबाट कतार आएकै दिन जसपाका अशोक राई नेतृत्वको समूहले अलग पार्टी दर्ता गर्न आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो । शुक्रबार अमेरिका उडेका यादव स्वदेश नफर्कदै राई, नवलकिशोर साह सुडी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान र सुशीला श्रेष्ठले दल विभाजन गरेको हुन।

सो सूचना पाएलगत्तै अध्यक्ष यादव कतारका कार्यक्रम रद्द गरी काठमाडौं फर्किन लागेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष यादव आज राति ११ बजेपछि काठमाडौं आइपुग्ने बताइएको छ । ‘कतारबाट आज बेलुका ६ बजेको फ्लाइट छ,’ स्रोतले भन्यो ।

पार्टी विभाजनपछि उपेन्द्र यादव पक्षका नेताहरु आन्तरिक र अनौपचारिक छलफलमा छन् । जसपाका प्रवक्ता मनिष सुमनले पार्टी अध्यक्ष यादव काठमाडौं फर्किएपछि औपचारिक बैठक बसेर छलफल गर्ने बताए ।

‘पार्टी अध्यक्ष आज राति काठमाडौं आइपुग्नु हुन्छ,’ प्रवक्ता सुमनले भने, ‘त्यसपछि हामी औपचारिक बैठक बसेर आवश्यक निर्णय गर्छौं ।’