राजनीति

विश्वासको मतका लागि साँझ ५ बजेदेखि ७ बजेसम्म कुर्छौं: सुदूरपश्चिम प्रदेश सभा

काठमाडौं, बैशाख २१। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्रायोजनका लागि बोलाएको बैठक बस्ने/नबस्नेबारे अहिले नै केही भन्न नसकिने प्रदेश सभा सचिवालयले जनाएको छ।

मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि आज प्रदेश सभाको बैठक आह्वान गर्न प्रदेश सभालाई औपचारिक आग्रह गरेका थिए। तर, अहिलेसम्म बैठक बस्नेबारे अन्योलता कायम रहेको छ।

विश्वासको मत दिनका लागि सत्ता गठबन्धनका दलहरू एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले आनकानी गरिहँदा मुख्यमन्त्री सोडारी भने बैठक अर्को दिन सार्ने तयार गरिरहेका छन्।

विश्वासको मतका लागि प्रदेश सभा बैठक बस्नु अगाडि कार्य व्यवस्था समितिको बैठक बस्नुपर्ने र हालसम्म उक्त बैठक पनि नबसेको प्रदेश सभा सचिव देवबहादुर बोगटीले बताए। उनले केन्द्रबिन्दुसँग भने,‘आजका लागि प्रदेश सभा बैठक बोलाइएको हो। विश्वासको मतका लागि प्रदेश सभा बैठक बस्नु अगाडि कार्यव्यवस्था समितिको बैठकपनि बसेको छैन। आज प्रदेश सभा बैठक बस्ने/नबस्ने विषय अन्योल छ। हामी साँझ ५ बजेदेखि ७ बजेसम्म कुर्छौं।’