राजनीति समाचार

उपनिर्वाचनः इलाममा किन बिकेन ‘वैकल्पिक दल’को चुनावी मुद्दा ?

काठमाडौं, बैशाख २०। पुराना शक्तिको विकल्प आवश्यक रहेको तर्कका साथ नयाँ वैकल्पिक राजनीतिक शक्तिको स्थापाना गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदमा उपस्थित संख्या लोभलाग्दो भनेर नेपाली राजनीतिमा अहिले पनि टिप्पणी हुन्छ ।

गएको संसदीय चुनावकै बेला रास्वपा जन्मिएको हो । जन्मिएको एक डेढ महिनामै चुनावमा होमिएको रास्वपाले चौथो ठूलो राष्ट्रिय शक्तिको परिचय बनायो । सुरुको संसदीय निर्वाचनपछि दुई पटक प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन भयो । त्यसमा पनि पहिलो उपनिर्वाचनमा तनहुँबाट सम्मानजनक जित निकालेको रास्वपाले बारामा भने निराशाजनक हार ब्यहोरेको थियो ।

अहिले भएको इलाम उपनिर्वाचनमा पनि रास्वपाको जमानत नै जफत हुने गरी मत आएपछि नागरिकले ‘बैकल्पिक पार्टी’ नखोजेका हुन कि भन्ने तर्क सामाजिक सञ्जालमा ब्याप्त छ । पार्टी नभएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ११ हजारभन्दा बढी मत आएको हेर्दा राजनीतिक दलहरुप्रति नै केही नागरिकहरु असन्तुष्ट रहेको अनुमान गर्न गाह्रो हुँदैन ।

तर पनि पुराना राजनीतिक दल एमाले र कांग्रेसको मत हेर्दा नागरिकले ‘बैकल्पिक पार्टी’ साँच्चै खोजेका हुन् त भन्ने प्रश्न जन्मिन्छ । बर्षौको बिरासत बनाएका एमाले र कांग्रेसले इलाममा पाएको मतले ‘बैकल्पिक पार्टी’मा नागरिकको आकर्षण खासै नभएको प्रष्ट देखाउँछ ।

चुनावमा हार र जित हुनु सामान्य भए पनि रास्वपालगायत ‘बैकल्पिक दल’ र स्वतन्त्रबाट उम्मेदवार बनेका व्यक्तिहरुले पाएको मत हेर्दा निराशाजनक मत प्राप्त गर्नु वैकल्पिक दलहरुलाई झड्का लाग्नु सरह भएको छ । रास्वपाले त आफ्नो विचार व्यक्त गरिसकेको छ– इलामको उपनिर्वाचनले पाठ सिकाएको छ । तर कस्तो पाठ यो चुनावबाट रास्वपाले सिक्यो भन्ने प्रमुख विषय हुन्छ ।

चुनाव आउँदै गर्दा सत्ता परिवर्तन हुनु र रास्वपा सरकारमा जानु पनि एक थरिका लागि रास्वपाको हार भएको अनुमान छ । अर्को तर्क गर्नेहरु पनि छन्– रास्वपा सभापति रवी लामिछानेको विषयमा विभिन्न काण्डहरु आइरहनु पनि सम्मानजनक मत प्राप्त नगर्नुको अर्को आधार हो ।

सही उम्मेदवार नउठाएकाले पनि रास्वपाको मत थोरै आएको अर्को तर्क पनि बलियो छ । रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बू उम्मेदवारी दर्ता गर्नुभन्दा अघिसम्म माओवादीमा आवद्ध हुनु र रास्वपाबाट उम्मेदवार बन्ने पक्कापक्की भएपछि माओवादीबाट अलग्गिनुले पनि उनलाई विश्वास गर्ने संख्या कम भएको मान्न सकिन्छ । त्यसो त पहिचानको मुद्दा पनि पेचिलो भएको इलाममा रास्वपालाई पहिचा बिरोधी पार्टीको रुपमा प्रचार गरिदिँदा त्यसको असर पनि परेको देखिन्छ ।

कतिपयले भने धरानका मेयर हर्कराज साम्पाङ रास्वपाप्रति कट्टर बन्नुले पनि नयाँ ‘बैकल्पिक’ भनिएका दलप्रति नागरिक विश्वस्त हुन नसकेको आंकलन गरेका छन् ।
पार्टीका सभापति लामिछानेलगायत रास्वपाका चर्चित सबै व्यक्तिहरु इलाम पुगेर प्रचार गर्दा पनि जमानत नै जफत हुने अवस्था आउनुले रास्वपालाई ठूलो झड्का दिएको छ । रास्वपा मात्रै नभएर नयाँ ‘बैकल्पिक दल’हरुलाई नै यो एक चुनौति भएको छ ।

चुनावको नतिजा आएपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले यो संसदीय व्यवस्थामा ‘बैकल्पिक’ दलहरुले केही गर्न नसक्ने तर्क गरेका छन् । उनले संसदीय व्यवस्थामै प्रश्न उठाएर भनेका छन्, ‘…यही व्यवस्था रहने हो र नौलो गणतन्त्र नआउने हो भने २०८४ मा पनि कुनै नयाँ कुरा हुनेवाला छैन । झन पुराना पार्टी र पात्रहरूकै बिगबिगी रहनेछ । फेरि गठबन्धनकै सरकार बनिरहनेछन्, प्रदेश सरकारहरू फेरि हरेक महिना दुई–महिनामा ढलिरहनेछन् । गठबन्धनको बैठकमा भागबण्डाको विषयले मात्रै प्रवेश पाइराख्नेछ । देशको अर्थतन्त्र र देश डुबिरहनेछ । युवाहरू विदेश पलायन भइराख्नेछन् । र, चेतना फैलाउने वा विरोध गर्नेहरू पक्राऊ परिराख्नेछन् ।’

उनले नौलो गणतन्त्रको परिकल्पना गरेको देखिन्छ । तर नौलो गणतन्त्र कस्तो हो भन्ने ठ्याक्कै खुलाएका भने छैनन् । सीके राउतले भने व्यवस्थामै प्रश्न उठाएका छन् । उनले रास्वपालाई एकीकृत तरिकाले नयाँ आन्दोलनको सुरुआत गर्नु आवश्यक रहेको सुझाएका छन् ।

एमालेलाई भोट

इलाममा एमालेलाई भोट आउनुको अर्को पाटो भने सुबास नेम्वाङप्रतिको सहनुभूति पनि हो भन्दा फरक पर्दैन । अल्पायुमै नेम्वाङको मृत्यु हुनुले नेम्वाङ परिवारप्रति नागरिकको सहानुभूति पनि थियो । शान्त र शालिन स्वभावको परिचय बनाएका सुवास नेम्वाङप्रति नागरिक तहमा भने खासै नकारात्मक टिप्पणी सुनिएका थिएनन् । त्यसले पनि नेम्वाङको परिवारबाटै उम्मेदवार बनेका सुहाङले राम्रो मत प्राप्त गर्ने आधार बनेको देखिन्छ ।

अर्को पाटो भने एमालेको संगठनिक गतिविधि पनि हो । एमालेको संगठन आफैँमा मजबुद छ । उसले गरेको पूर्व पश्चिम यात्राले पनि एमालेलाई मत तान्न फाइदा पुर्‍याएको देखिन्छ ।

पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तन गर्न खेलेको भूमिकाले पनि एमालेको नेतृत्वलाई ‘चतुर’ नेतृत्वको संज्ञा मिलेको छ । राजनीतिमा जसले बढी चलखेल गर्न सक्यो, त्यही गज्जवको राजनीतिज्ञ भन्ने चर्चाका कारण पनि एमालेप्रति नागरिकहरु आकर्षित भएको देखिन्छ । रास्वपा, माओवादीलगायतलाई मिलाएर सत्ता पल्टाउन सफल भएकोमा कतिपयले एमालेको नेतृत्वलाई ‘चतुर’ नेतृत्वकर्ताको संज्ञा दिएका छन् ।

कांग्रेसको कमजोर प्रदर्शन

कांग्रेस आफैँमा संगठनिक गोलचक्करमा रहेको देखिन्छ । विभिन्न गुट उपगुटमा रूमल्लिएको कांग्रेसले दोहो¥याएर डम्बर खड्कालाई नै उम्मेदवार बनाएको थियो । तर कांग्रेसको सोचेजस्तो मत आएन्् । कांग्रेस भने एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादीले भोट नकाटेका कारण आफूहरूको मत कम आएको तर्कमा रमाइरहेको छ ।

मतदाताको सन्देश

इलामका मतदाताले भने साना ठूला तथा नयाँ पुराना सबैलाई स्पष्ट सन्देश दिएको देखिन्छ । नयाँ पार्टी हुँदैमा उम्मेदवार र पार्टीको दृष्टिकोण स्पष्ट नभएमा मत भने नआउने देखिएको छ । पुराना पार्टी हुँदैमा भोट नआउने हुँदैन सन्देश इलामेलीले यो उपनिर्वाचनमा दिएका छन् ।

संसदीय निर्वाचनमा मिश्रित निर्वाचन प्रणाली अपनाएको हाम्रो देशले सरकार पनि संसदमा उपस्थित संख्याकै आधारमा बनाउँछ ।

सरकार बनाउन संसदको संख्यालाई आधार बनाउँदा सत्ता परिवर्तन भइरहने र अस्थिर राजनीति रहिरहने देखिन्छ । अहिले पनि केन्द्रको सरकारमा आएको परिवर्तनले प्रदेशहरुमा पनि त्यही तहको फेरबदल गरिदिन्छ ।

फलस्वरुपः राजनीतिक अस्थिरताले नागरिक तहमा भने आक्रोशको कमी भएको छैन । तर पनि नागरिकले आक्रोशको व्यवस्थापन गर्न पाउने गरी ‘बैकल्पिक’ राजनीतिक शक्ति फेला नपारेका हुन् कि भन्ने प्रश्न उब्जिएको छ । त्यसो त यो उपनिर्वाचनमा नागरिकहरुले पुराना दलहरुलाई सच्चिन अवसर दिएको भनेर बुझ्दा पनि फरक नपर्ला ।