फिचर न्युज समाचार

२८ महिनामा एमालेका तीन लाख सदस्य घट्यो

काठमाडौँ, वैशाख १३। २८ महिनाको अन्तरालमा एमालेका करिब तीन लाख १० हजार सदस्य घटेका छन् । ०७८ मंसिरमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा आठ लाख ५६ हजार सदस्य यकिन गरेको एमालेले ८ र ९ वैशाखमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा भने संगठित सदस्य संख्या पाँच लाख ४६ हजार ६ सय ९५ जना रहेको तथ्यांक पेस गरेको छ । 

दशौँ महाधिवेशनलगत्तै व्यवस्थित अभिलेखका लागि सदस्यता नवीकरण अभियान चलाएको एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस गरेको प्रतिवेदनमा पछिल्लो सदस्य संख्या जानकारी गराएको हो । प्रतिवेदनअनुसार यसबीचमा तीन लाख नौ हजार तीन सय पाँच सदस्य घटेका छन् ।

दशौँ महाधिवेशनका वेला पार्टी विभाजनका कारण एकीकृत समाजवादी र माओवादीतिर गएका तथा निष्क्रिय रहेकाकोेसमेत तथ्यांकलाई आधार मानेर सदस्यता यकिन गरिएकाले अहिले तथ्यांकमा धेरै फरक परेको एमालेको तर्क छ । तर, नेकपा विघटनपछि मात्रै एमालेले दशौँ महाधिवेशन गरेको थियो । दशौँ महाधिवेशनपछि सदस्य संख्या घट्नुका कारणका विषयमा महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन भने मौन छ । 

‘यति वेला नवीकृत र नयाँ गरी पार्टी सदस्य संख्या पाँच लाख ४६ हजार ६ सय ९५ कायम भएको छ । ०८१ का लागि नवीकरणको प्रक्रिया सुरु भएकाले सदस्यता नवीकरण र विस्तार योजनालाई प्रभावकारी बनाउनका लागि विशेष परिपत्र जारी गरिएको छ । सोहीअनुसार अघि बढ्न सक्दा पार्टी सदस्यता व्यवस्थित हुने अपेक्षा गर्न सकिन्छ,’ यसरी अहिलेको आँकडा उल्लेख गरेर महासचिव पोखरेलले नवीकरण र विस्तार योजना प्रभावकारी बनाउन परिपत्र जारी गरिएको विषय उल्लेख गरेका छन् । 

महासचिवको प्रतिवेदनमा नवीकरण र सदस्यता विस्तारमा समस्या देखिएको विषय उठान गरिए पनि त्यति ठूलो संख्यामा नवीकरण नहुनुको कारण केही खुलाइएको छैन । ‘सदस्यता नवीकरण र विस्तारमा कतिपय जिल्लामा समस्या देखिएका छन् । पार्टी सदस्यहरूले नवीकरण शुल्क बुझाइसकेको अवस्थामा पनि नवीकरणको विवरणमा नाम समावेश नभएकाजस्ता कमजोरी देखिएका छन् । कतिपय जिल्ला–पालिकाले नयाँ सदस्यता प्रदान गर्ने कुरामा ध्यान नदिएको पाइएको छ,’ प्रतिवेदनमा छ ।

स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भने दशौँ महाधिवेशनमा व्यवस्थित अभिलेख नभएकैले संख्या बढी देखिए पनि नवीकरण अभियानपछि अहिले सक्रिय, योग्यतम र गुणस्तरीय कार्यकर्तासहितको सदस्य संख्या यकिन भएको बताए । ‘दशौँ महाधिवेशनमा पार्टी सदस्यको अभिलेख चुस्तदुरुस्त थिएन । नेकपा काल भएकाले विभाजनपछि कतिपय साथी नेकपा एसतिर, कतिपय माओवादीतिर भएकाहरू र निष्क्रिय रहेका सदस्यकोसमेत संख्या जोडिएकाले वास्तविक अभिलेखविनै महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘त्यसैले दशौँ महाधिवेशनपछि नयाँ शिराबाट सदस्यता नवीकरण गर्दै व्यवस्थित अभिलेख राख्ने प्रक्रिया अघि बढायौँ । अहिलेको आँकडा एकदम जीवन्त र योग्यतम सदस्यको हो ।’ 

अधिकारीका अनुसार ०८१ को पनि नवीकरण सुरु भएको छ । ‘एघारौँ महाधिवेशनसम्म कम्तीमा १० लाख सदस्य पुर्‍याउने लक्ष्य निर्धारण गरेका छौँ । तर, गुणस्तरमा कुनै सम्झौता गर्दैनौँ,’ उनले भने । एमालेले संगठित सदस्यहरूको विवरणलाई डिजिटलाइज्ड गर्दै अनलाइनबाटै नवीकरण र विस्तार गर्न सकिने गरी व्यवस्थापन गरेको छ । दशौँ महाधिवेशनका आठ लाख ५६ हजारको संख्या र अहिले नवीकृत पाँच लाख ४६ हजार ६ सय ९५ संख्याको आँकडा हेर्दा यसबीचमा एमालेका तीन लाख नौ हजार तीन सय पाँच सदस्यले नवीकरण गरेका छैनन् । त्यसमध्ये एमालेले पार्टी विभाजनपछि करिब २० प्रतिशत हाराहारी सदस्य नेकपा एसतिर लागेको अनुमान गर्दै आएको छ । 

दशौँ महाधिवेशनको अव्यवस्थित अभिलेख र एमालेको अनुमानलाई आधार मान्ने हो भने करिब एक लाख ७१ हजार दुई सय सदस्य नेकपा एसतिर लागेका छन् । यसबाहेक एक लाख ३८ हजार एक सय पाँच सदस्यले नवीकरण गरेका छैनन् । यसरी नवीकरण नगर्नेहरूलाई एमालेले निष्क्रिय सदस्यका रूपमा चित्रित गरेको छ । तर, नेकपा एसतिर लागेकामध्ये थुप्रै सदस्य एमालेमा फर्किएको र फर्किने सिलसिला जारी रहेकाले ०८१ को नवीकरण अभियानमा संख्या बढ्दै जाने संगठन विभाग प्रमुख अधिकारीले दाबी गरे । 

समग्रमा सदस्य घटे पनि नवीकरणबाट चलायमान, सक्रिय र गुणस्तरयुक्त कार्यकर्तापंक्तिको संख्या यकिन भएको एमालेको भनाइ छ । एमालेले सदस्यता नवीकरण र विस्तार अभियान जारी राख्ने भएको छ । कुल मतदाताको कम्तीमा ६ प्रतिशत पार्टी सदस्य बनाउने कार्ययोजना महाधिवेशन प्रतिनिधि परिषद् बैठकले पारित गरेको छ ।  ‘आगामी कार्ययोजना ः बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण’ प्रतिवेदनको शीर्षकमा छ, ‘पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नका लागि जिल्ला र पालिका तहमा कुल मतदाताको ६ प्रतिशत र प्रत्येक वडामा न्यूनतम तीन प्रतिशत पार्टी सदस्यता पुग्ने गरी सदस्यता विस्तार योजना बनाउनुपर्दछ ।’ अहिले मतदाता संख्या एक करोड ७८ लाख ३८ हजार सात सय ९२ छ । 

दुई लाख ७७ हजार कमिटीमा सक्रिय:
महासचिव पोखरेलको प्रतिवेदनअनुसार पाँच लाख ४६ हजार ६ सय ९५ संगठित सदस्यमध्ये दुई लाख ७७ हजार चार सय संगठित सदस्य केन्द्रीय कमिटीदेखि वडा कमिटीसम्म संगठित छन् । तर, जनवर्गीय संगठनका पदाधिकारी, केन्द्र, प्रदेश र जिल्ला नेतृत्वमा संगठित पार्टी सदस्यबारे भने प्रतिवेदनमा उल्लेख छैन । प्रतिवेदनअनुसार आठ सय ६ जना केन्द्रीय कमिटी, केन्द्रीय आयोग र केन्द्रीय सल्लाहकार परिषद्मा आबद्ध छन् । त्यस्तै, प्रदेश कमिटीमा दुई हजार दुई सय ७०, जिल्ला कमिटीमा आठ हजार आठ सय ५०, पालिका कमिटीमा ५६ हजार सात सय ४१, वडा कमिटीमा दुई लाख नौ हजार ३३ जना संगठित छन् । 

कुन प्रदेशमा कति मतदाता ? कति पार्टी सदस्य ?
प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांकअनुसार अहिले कोशी प्रदेशमा ३३ लाख ९६ हजार आठ सय ६५ मतदाताको २ दशमलव ८१ प्रतिशत अर्थात् ९५ हजार चार सय ८१ जना मात्र पार्टी सदस्य रहेका छन् ।

त्यस्तै, मधेस प्रदेशमा ३३ लाख ८७ हजार आठ सय आठ मतदाताको २ दशमलव जिरो सात प्रतिशत अर्थात् ७० हजार ७० जना पार्टी सदस्य छन् । बागमती प्रदेशमा ३४ लाख ७१ हजार चार सय ९२ मतदाताको तीन दशमलव १५ प्रतिशत अर्थात् दुई लाख आठ हजार दुई सय ८९ पार्टी सदस्य छन् । गण्डकी प्रदेशमा १८ लाख ६ हजार पाँच सय ८५ मतदाताको तीन दशमलव ५२ प्रतिशत अर्थात् ६३ हजार पाँच सय ७३ जना पार्टी सदस्य छन् ।

यसैगरी लुम्बिनीमा ३२ लाख ४९ हजार ६ सय ३५ जना मतदाताको २ दशमलव ५५ प्रतिशत अर्थात् दुई लाख ९४ हजार नौ सय ७८ जना पार्टी सदस्य छन् ।

कर्णालीमा १० लाख आठ हजार चार सय तीन मतदाताको पाँच दशमलव १६ प्रतिशत अर्थात् ६० हजार पाँच सय चारजना पार्टी सदस्य छन् । सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाताको तीन दशमलव २३ प्रतिशत अर्थात् ९९ हजार चार सय ८० जना पार्टी सदस्य छन् ।