फिचर न्युज राजनीति

जनताको आशा र भरोसालाई आफ्नो एमालेले सम्बोधन गरी छाड्छ : अध्यक्ष ओली

काठमाडौं, वैशाख १० । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा ललितपुरको गोदावरीस्थित सनराईज हलमा जारी छ । शनिबारबाट सुरु भएको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गरी छोड्ने प्रतिवद्धता जनाए ।

बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भएको टिप्पणी गरे । नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पूँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भएको टिप्पणी गरेका हुन् ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै ०७९ को निर्वाचन एमालेलाई नियमित र सामान्य लोकतान्त्रिक प्रक्रिया नभएको बताए । ‘प्रतिपक्षमा रहेका हाम्रा दलविरुद्ध सत्तामा रहेका ६ दलको घेराबन्दी थियो । प्रतिपक्षका विरुद्ध सत्तापक्षको त्यस्तो गठबन्धन अलोकतान्त्रिक मात्रै थिएन । अराजनीतिक पनि थियो।

हाम्रा विरुद्ध सत्ता पक्षले साधन र स्रोतको दुरुपयोग गर्‍यो’ उनले भने, ‘निर्वाचन आयोगलाई पनि प्रभावित पार्‍यो । निर्वाचन होइन पार्टीले एक किसिमले युद्ध नै लड्नुपरेको थियो ।’ अध्यक्ष ओलीले घेराबन्दीका बाबजुद पनि समानुपातिकतर्फ सर्वाधिक मत ल्याएर जनताको रोजाइको पहिलो पार्टी बनेको बताए ।

उनले नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै भने, ‘गठबन्धनको बलमा पहिलो पार्टी बने पनि कांग्रेसको जनाधार विगतमा भन्दा खस्किएको छ । कांग्रेससँगको मतान्तर दोब्बरभन्दा बढी बढेको छ । कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पूँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद निकै कमजोर भयो र जनमतबाट अस्वीकृत भयो । हाम्रो पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको कथित प्रतिगमनको भाष्य झूटो थियो खण्डित भयो ।’

आजै महासचिव शंकर पोखरेलले बैठकमा सांगठानिक प्रतिवेदन पेस गर्र्दैछन् । बैठकमा केन्द्रीय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधिहरू सहभागी भएको एमालेले जनाएको छ ।