देश समाचार

रौतहटको गरुडाका मेयरसहित कर्मचारी नगरपालिका नै सुनसान पारेर भारत भ्रमणमा

काठमाडौं, वैशाख ५। रौतहट जिल्लाको गरुडा नगरपालिकाका मेयरसहित ३० जनाको टोली भारत भ्रमणमा हिँडेपछि नगरपालिकाको दैनिक कामकाजमा समस्या उत्पन्न भएको स्थानीयको गुनासो रहेको छ । मेयर कन्थमणिप्रसाद कलवार, उपप्रमुख पुनमकुमारी चौधरी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगर परिषद् सदस्यहरूसहितका तीन दर्जनको जम्बो टोली भ्रमणमा हिँडेपछि दैनिक कामकाजमा समस्या भएको गरुडाका सेवाग्राही दीनानाथ सहनीले गुनासो गरे ।

जनप्रतिनिधिहरू नै नगरपालिका र वडा कार्यालयमा नभएपछि सेवा प्रवाहमा समस्या भएको उनको भनाइ छ । रोचक कुरा त के छ भने सो नगरपालिकाका मेयरविरुद्ध आन्दोलनमा उत्रेकी उपमेयरसमेत हिसाबकिताब मिलेपछि मेयरसँगै भ्रमणमा निस्केकी हुन् । उपमेयर पुनमकुमारी चौकरी मेयरले नगरपालिकाको रकम हिनामिना गरेको भन्दै केही समय पहिला नगरपालिकाको मूलगेटमा ताला लगाएर धर्नामा बसेकी थिइन् ।

अहिले नगरपालिकाका सबै जनप्रतिनिधि धार्मिक भ्रमणको नाममा झोलीतुम्बा बोकेर भारततिर लागेपछि अहिले गरुडा नगरपालिकाको कार्यालय सुनसान देखिएको छ । यहाँका जनप्रतिनिधि र कर्मचारी  भ्रमणका लागि जिल्लाबाहिर मात्र नभई छिमेकी मुलुक भारतमा पुगेका छन् । उनीहरू तीर्थयात्रा भनी भारतको हरिद्वार, अयोध्यालगायतका ठाउँमा तीर्थ भ्रमणमा पुग्ने योजना रहेको भ्रमण दलका एक सदस्यले बताए ।

नगरपालिकाका जनप्रतिनिधिसहित कर्मचारी र सदस्यहरूको टोली भ्रमणमा गएको हो । टोली नै एकैपटक भ्रमणमा निस्किएपछि नगरपालिकाको दैनिक काम प्रभावित भएको छ । नगरपालिकामा विभिन्न कामले आउने सेवाग्राही यतिवेला नगरपालिकाबाट रित्तो हात फर्कन बाध्य छन् ।

जनप्रतिनिधि नभएपछि नगरपालिकाको प्राविधिक, स्वास्थ्य, कृषि, पशु, सामाजिक सुरक्षा, महिला विकासलगायत शाखाका कर्मचारीहरूसमेत मोबाइल चलाएर दिन बिताउँदै देखिन्छन् । अहिले नगर प्रमुख कलवारसहितकाे टोली भारत पुगेकाे छ।

गरुडा नगरपालिकाका प्रमुख कन्थमणि कलवारसहित नगरको टोली भारतको विभिन्न धार्मिक तीर्थस्थल भ्रमणका लागि ६ लाख खर्च गरेर भारतको अयोध्यासम्म पुग्न लागेको स्रोतको भनाइ छ । रामनवमी पर्व पारेर नगर प्रमुख कलवारले कार्यपालिकाका असन्तुष्ट पक्षलाई तीर्थस्थलको भ्रमण गराएर खुसी पार्न खोजेको आरोप स्थानीयको छ ।