कृषि

पशुपंक्षी शाखाद्वारा बेलबारीका किसानलाई पशु आहार सम्बन्धी तालिम सञ्चालन

बेलबारी, बैशाख ५ । मोरङको बेलबारी नगरपालिका अन्तर्गत रहेको पशुपक्षी सेवा उपशाखाले बेलबारीका किसानलाई ३ दिने पशु आहार व्यवस्थापन सम्बन्धी तालिम सञ्चालनमा ल्याएको छ । गत सोमबारबाट सुरु भएको उक्त  तालिम आज बुधवारसम्म सञ्चालन हुने पशुपक्षी शाखाले जानकारी दिएको छ । 

३ दिने उक्त तालिमको पहिलो दिन पशु पोषण परिचय तथा महत्त्व, पोषणत्वको वर्गीकरण र कार्य, खनिज तत्व र यसका फाइदा साथै घाँस खेतीको वर्गीकरण विषयमा किसानलाई तालिम प्रदान गरिएको थियो भने मंगलबार फर्ममा प्रयोग हुने साईलेज निर्माण विधि, घाँसका किसिम, पशु आहार उत्पादन प्रविधि लगायतको विषमा तालिम दिइएको हो । आज अन्तिम दिन भने सन्तुलित दान तयार, स्थानीय आहारको सदुपयोग, उत्पादन लागत विश्लेषण विधि लगाएका विषयमा केन्द्रित हुने बेलबारी नगरपालिका पशुपक्षी सेवा उपशाखा प्रमुख बाबुराम बस्नेत बताउँछन् । तालिमले किसानको क्षमता अभिवृद्धि हुनेमा उनी विश्वस्त छन् । 

त्यस्तै तालिममा सहभागी हुँदा आफूले परम्परागत विधिबाट गर्दै आएको पशुपालनको कमजोरी बरे जानकारी भएको र त्यसलाई कसरी सुधार गर्ने भन्ने बारे ज्ञान पाएको बेलबारी २ का पुरुषोत्तम पोखरेल बताउँछन् । तालिममा सहभागी भएपछि कुन अवस्थाका पशुलाई कस्तो प्रकृतिको आहार दिने ? कुन मात्रमा दिने भन्नेबारे प्रस्ट भएको किसान पोखरेल बताउँछन् ।

तालिमको कार्यादेश सम्बन्धी जिम्मेवारी पशुपक्षी सेवा शाखाका छैटौँ स्तर अधिकृत शहदेव दासले पुरा गरेका छन् भने दाससहित बेलबारी नगरपालिका पशुपक्षी विकास शाखाका चिकित्सक डा रुपेश घिमिरे, अधिकृत मोहन नेपाल र शाखा प्रमुख बाबुराम बस्नेतले तालिम सञ्चालन गरेका हुन् । तालिम बेलबारी नगरपालिकाको पुरानो भवन अर्थात् हालको वडा नं ३ को कार्यालय रहेको स्थानमा सञ्चालन भइरहेको छ ।