न्याय-अन्याय फिचर न्यूज समाचार

टेलिकमका ३० कर्मचारीसहित मुख्यसचिव अर्यालको बयान लिंदै अख्तियार

काठमाडौं, बैशाख ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार सम्बन्धी ठेक्का प्रकरणमा आरोपितहरुसँग बयान लिन थालेको छ ।

अख्तियारले हालका मुख्यसचिव डा। बैकुण्ठ अर्याल, दुई सहसचिव, टेलिकम सञ्चालक समितिका पदाधिकारी र ३० उच्च पदस्थ कर्मचारीसँग बयान लिन थालेको हो ।

‘अनुसन्धानका सिलसिलामा सञ्चालक समितिका पदाधिकारीहरुदेखि निर्णय प्रक्रियामा संलग्न अरु कर्मचारीहरुलाई बोलाइएको हो’, अख्तियार स्रोतले भन्यो, ‘मुख्यसचिव र सञ्चालक समितिका पदाधिकारीहरुसँग अब बयान लिने तयारी छ ।’

दैनिक ३/४ जना कर्मचारीलाई बोलाएर पालैपालो बयान लिइरहेको र यो साता बयान सकिने अख्तियारका एक अधिकृतले बताए । टेलिकमका सामान्य कर्मचारीलाई पत्र काटेर बयानमा झिकाएको अख्तियारले उच्चपदस्थ कर्मचारीलाई टेलिफोन गरेर बयानका लागि बोलाएको छ ।

यो साता टेलिकमका कर्मचारीहरुको बयान लिने र उनीहरुको सकिएपछि सञ्चालक समितिका पदाधिकारीहरुको सुरु गर्ने अख्तियारको तयारी छ । अख्तियारले टेलिकमका पूर्वप्रबन्ध निर्देशक डिल्लीराज अधिकारीसँग बयान लिइसकेको छ ।

निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीसँग पनि बयानको तयारी गरेको छ । दुवैजना बिलिङको मर्मतसम्भार ठेक्कासम्बन्धी प्रक्रियामा संलग्न रहेको अख्तियारको आरोप छ ।