कृषि समाचार

बेलबारी नगरपालिकाद्वारा किसानलाई ५५ थान मोटर बोर्रिङ सेट वितरण

बेलबारी, चैत्र २७ । । मोरङको बेलबारी नगरपालिकाले किसानसँगको साझेदारीमा मोटर बोर्रिङ सेट वितरण गरेको छ । नगरपालिकाले सोमबार साना सिचाई प्रवर्द्धन कार्यक्रम अन्तरगत कृषकहरूलाई ५५ वटा मोटर बोर्रिङ सेट वितरण गरेको हो ।

नगरपालिकाको अनुसार २५ प्रतिशत कृषकको लागतसहित रु ३१ हजार १ सय प्रति मोटर बोर्रिङ सेटको मूल्य रहेको छ । साढे चार बिघाको दरमा मोटर बोर्रिङ सेट वितरण गरेको बेलबारी नगरपालिकाको कृषि शाखाले जनाएको छ । कृषि शाखाको अनुसार ७५ प्रतिशत नगरपालिकाको लागतमा कृषकहरूलाई २४७।५ बिघा जमिनको लागि १७ लाख १० हजार ५ सय रुपैयाँ बराबरको ५५ मोटर बोर्रिङ सेट वितरण भएको छ ।

मोटर बोर्रिङ वितरण गर्दै कृषि क्षेत्रमा आत्मनिर्भर बन्ने प्रयत्न गर्न बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले कृषकहरूलाई आग्रह गरेका छन् । साना सिचाई प्रवर्द्धन कार्यक्रम अन्तरगतको मोटर बोर्रिङ वितरणसँगै यस आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा तरकारीको बिउँ, धानको बिउँ, मकैको बिउँ वितरण गरिएको साथै आकस्मिक बाली संरक्षण अन्तरगत निःशुल्क विषादी, कृषि यान्त्रीकरण अन्तरगत मकै रोप्ने मेसिन, विद्युतीय विषादी छर्ने उपकरण पनि वितरण गरेको बेलबारी नगरपालिकाका कृषि शाखाका प्रमुख सन्तोष कँडेलले जानकारी दिए।