खेलकुद फिचर न्युज

बेलबारी उप–मेयर कप: आयोजकलाई ६ विकेटले हराउँदै धरान सेमिफाइनलमा

बेलबारी, चैत्र १० । मोरङको बेलबारी स्थित बेतना ग्राउन्डमा जारी प्रथम प्रदेश स्तरीय अन्तर पालिका उप–मेयर कप टी–२० क्रिकेट प्रतियोगिता २०८० को उद्घाटन खेलमा आयोजक बेलबारी नगरपालिकाको टिमलाई ६ विकेटले हराउँदै धरान सेमिफाइनलमा प्रवेश गरेको छ । 

टस जितेर पहिले फिल्डिङ रोजेको धरानले बेलबारीलाई १९ औँ ओभरमा अल आउट गर्दै ९३ रनको लक्ष्य पाएको थियो । धरानका लागि ठानेश्वर जोशीले सर्वाधिक ३० रनको योगफल बनाउँदा टिमले ४ विकेटको क्षतिमा १३ दशमलव १ विकेट खर्चिएर आफ्नो लक्ष्य पुरा गर्‍यो । धरानका खेलाडीहरू कृष्ण यादव र नवराज देवले सर्वाधिक ३ ३ विकेट लिए । 

यता बेलबारीको तर्फबाट भने अनुराग खत्रीले सर्वाधिक २८ रन जोडे भने खेलमा अन्य ४ खेलाडीले १ १ विकेट लिएका थिए । खेलको मेन अफ द म्याच धरानका कृष्ण यादव बनेका छन् । उनले ट्रफिसहित नगद रु २ हजार पुरस्कार पाएका छन् । 

आगामी चैत्र १७ गते सम्म सञ्चालन हुने उप मेयर कपमा ८ वटा पालिकाका टोली सहभागी छन् । भोलि बिहान ९ बजे बाट हुने खेलमा इनरुवा नगरपालिका र पथरी शनिश्चरे नगरपालिका भिड्ने छन् भने दिउँसो १ बजेबाट हुने दोस्रो खेलमा भद्रपुर नगरपालिका र इटहरी उपमहानगरपालिका भिड्ने छन् । खोलको आयोजना बेलबारी नगरपालिकाले गरेको हो भने यसको व्यवस्थापनको काम बेलबारी क्रिकेट कपले गरेको छ । खेलमा कोसी प्रदेश क्रिकेट संघ र मोरङ क्रिकेट संघले प्राविधिक सहयोग गरेका छन् ।