राजनीति

नैतिकताको आधारमा गृहमन्त्री लामिछानेलाई एक मिनेट पदमा बस्ने छुट छैन : कोइराला

काठमाडौं,  चैत्र १० । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । सडकदेखि संसद्‌सम्म विरोध भैरहँदा पनि उनी पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको कोइराला बताए ।

तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो,’ कोइरालाले भने ।

काठमाडौंको मध्यबानेश्वरका पार्टीका स्थानीय कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौंका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा अचम्म लागेको बताए । हरेक परिवर्तनमा काठमाडौंवासीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै कोइरालाले अबका दिनमा पनि उहाँहरुको निरन्तर खबरदारीको आवश्यकता रहेको बताए ।

स्थानीय कार्यकर्ताहरुले पार्टीमा चाकडीप्रथा हाबी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरुले जनभावनाअनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोरी भएको जस्ता गुनासाहरु राखेका थिए ।

भेटघाटमा वाग्मती प्रदेशसभा सांसद सुरज लामिछाने, काठमाडौं १ का क्षेत्रीय सभापति रविबिक्रम राणा, नेपाल संस्कृत विश्व विद्यालयका पूर्वउपकुलपति प्राडा कुलप्रसाद कोइराला, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, श्रीहरि अर्याल, पत्रकार हरिहर विरही लगायतको सहभागिता थियो ।