न्याय-अन्याय फिचर न्युज

बेलबारी हत्या प्रकरण: श्रीमतीको हत्या पछि आत्महत्या, ८ बर्षिया छोरो भागेर बाँच्न सफल (भिडियो)

बेलबारी, चैत ७ । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन्।

८ बर्षिया छोरा भने भागेर बाँच्न सफल भएका छन्। राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीया पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए। गीतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

लगतै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ।

मृतकहरू निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए। मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए । प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ।