कृषि फिचर न्यूज

कृषिमा बेलबारीः यी हुन किसानले नगरपालिकाबाट निःशुल्क पाउने सेवाहरु (भिडियो)

निकेश बराल

मोरङ, चैत ५ । बेलबारी नगरपालिका अन्तर्गत रहेको कृषि विकास उपशाखाले धान मकैको उत्पादन, मल बिउको उपलब्धता, मौरी प्रवर्द्धन, माटो परीक्षण, कृषि औजार वितरण लगायतका विषयमा भइरहेको कर्यप्रगति बारे जानकारी दिएको छ ।

कुल १३ हजार २ सय ७९ हेक्टर क्षेत्रफल भएको बेलबारी नगरपालिकामा खेतीयोग्य जमिन ३० प्रतिशत अर्थात् करिब ४ हजार हेक्टर रहेको छ । बेलबारी नगरपालिका आफ्नै क्षेत्रमा उत्पादन हुने धार र मकैमा आत्मनिर्भर बन्न सफल भएको छ भने आगामी आर्थिक वर्ष भित्र तरकारी उत्पादनमा समेत कृषकलाई आत्मनिर्भर बनाउने कृषि शाखाको योजना छ । 

बेलबारी नगरपालिकाको कृषिले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९ २०८० मा १३ हजार ३ सय ३२ मेट्रिक टन धान, ७ हजार २ सय ५० मेट्रिक टन मकै र ६ हजार ८ सय ९४ मेट्रिक टन तरकारी उत्पादन भएको छ । साथै नगर भित्र मुसुरो दाल र तेल लगायतको उत्पादन बढ्दो रहेको बेलबारी नगरपालिका कृषि विकास उपशाखा प्रमुख सन्तोष कँडेल बताउँछन् ।

गत आर्थिक वर्षमा १३ हजार मेट्रिक टन भन्दा बढी धान उत्पादन भएको बेलबारीमा चालु आर्थिक वर्षमा उत्पादन बढ्ने अनुमान छ । कृषकको उत्पादन बढाउन कृषि उपशाखाले चैते धानको उन्नत बिउ वितरण गरेको थियो भने बर्खे धानमा पनि बिउ वितरणको लागि सूचना प्रकाशन गरेको छ ।

त्यस्तै यस वर्ष मल खादको उपलब्धता सहज भएको नगरपालिकाको भनाई छ । कृषि उपशाखा प्रमुख कँडेल का अनुसार २ वटा पसलबाट अनुदानमा मल खाद वितरण गरिएकाले यस वर्ष किसानलाई सहज भएको छ । 

यस बाहेक पनि नगरले कृषि तर्फ सर्वसाधारणको आकर्षण बढाउन विभिन्न योजनाहरू अघि सारेको छ । जसमा तरकारी वालि प्रवर्धन, प्राविधिक सेवा, च्याउ प्रवर्द्धन, मौरीका घर वितरण, प्राङगारिक पाठशाला सञ्चालन, आकस्मिक वालि संरक्षण लगायतका योजना रहेका छन् । 

कृषि शाखाले सञ्चालन गरेको तरकारी वालि प्रवर्धन कार्यक्रम अन्तर्गत हिउँदे र बर्खे वालिको बिउँमा ५० प्रतिशत अनुदानमा दिन सुरु गरेसँगै बाली उत्पादन बढ्न थालेको तथ्यांकले देखाउँछ । यसरी उत्पादन बढ्नुमा कृषि उपशाखाले वर्ष भरि नै गराउँदै आएको प्राविधिक सेवा कोसमेत भूमिका  छ । खेती वालिमा रोग किरा लागेको अवस्थामा किसानले पालिका मार्फत निःशुल्क आकस्मिक वालि संरक्षण सेवा लिन सक्ने सुविधा छ । पालिकालाई तरकारीमा समेत आत्मनिर्भर बनाउन कृषि उपशाखाले च्याउ प्रवर्द्धन कार्यक्रम, माटो परीक्षण शिविर, कृषि औजार वितरण लगायतका काम गर्दै आएको शाखा प्रमुख कँडेल बताउँछन् ।

यसका अतिरिक्त पालिकाले मह उत्पादनमा चासो बढाउँदै मौरी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी मौरीका घर वितरण गरेको छ । मकैको उत्पादन बढाउन उन्नत जातको मकै प्रवर्द्धन, वालि शिविर सञ्चालन, प्राङगारिक मल उत्पादन कसरी गर्ने भन्ने बरे १६ हप्ते पाठशाला सञ्चालन गरेको छ भने आगामी आर्थिक वर्षको लागि धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत समूह स्तरमा धान मिल निर्माण गर्ने लगायतका भावी योजना छन् ।