न्याय-अन्याय समाचार

बेलबारीमा अबैध उत्खनन गरिरहेको क्रसरको स्काभेटर नियन्त्रणमा

मोरङ, फागुन १५ । मोरङको  बेलबारी नगरपालिका वडा नम्बर ५ मा रहेको जलजला क्रसर (धनपाल क्रसर) उद्योगले अवैधानिक  रूपमा जमिन उत्खनन गरेको पाइएको छ ।

बेलबारी नगरपालिकाकी उपमेयर  नितु थापा कोइराला ले सोमबार गरेको छड्के अनुगमनका क्रममा सो क्रसरले नियम बिपरित उत्खनन गरेको पाइएको हो । जससँगै बेलबारी नगर प्रहरी र नेपाल प्रहरीले एक्स्काभेटर नियन्त्रणमा लिएको  छ । एक्स्काभेटर चालक भने फरार भएका छन् । 

नगरपालिका सँग अनुमति नलिई, कर नतिरी यसरी उत्खनन गर्नु र सामाग्री बिक्री वितरण गरिनु अवैधानिक मानिन्छ । क्रसर उद्योगले बिना अनुमति बेलबारी ४ मा रहेको निजी जग्गामा उत्खनन गरी सामाग्रीहरू बिक्री वितरण गरेको पाइएको उपमेयर  नितु थापाले जानकारी दिइन  ।

उपमेयर  कोइरालाले सबैले कुनै पनि काम गर्दा त्यसको मापदण्ड भित्र रहेर काम गर्नुपर्ने र  गैर कानुनी तरिकाले गरिएको कुनै पनि कार्यलाई कानुनी दायरामा ल्याइ कारबाही गरिने बताइन । अवैधानिक रूपमा उत्खनन भएको पाइएपछि उत्खननमा प्रयोग भएको साधन नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर तेज दाहालले जानकारी दिए । उनले सो साधन बेलबारी नगरपालिकाको जिम्मा लगाईने समेत बताएका छन् ।