न्याय-अन्याय फिचर न्यूज

पाँचथरको सिद्ध महेन्द्र माविको बदमासीः ४ महिनादेखि शिक्षक नियुक्ति रोक्का

पाँचथर,पुस २५ । पाँचथरको तुम्बेवा गाउँपालिका १ आङ्ना स्थित सिद्ध महेन्द्र माध्यमिक विद्यालयमा राजनीति हाबी हुँदा परीक्षा उत्तीर्ण गरेको परिक्षार्थीलाई ४ महिनासम्म पनि नियुक्ति पत्र नदिएको खुलेको छ ।

गत साउन २३ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले गाउँपालिका आधारभूत तह शिक्षा अनुदान अन्तर्गतको एक जना करार शिक्षक राख्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार विद्यालयले १५ दिने सूचना जारी गर्दै विज्ञापन खुलाएको छ । जसमा दुई जनाको मात्र आवेदन परेको विद्यालयद्वारा प्रकाशित पत्रमा देखिन्छ । सोही आवेदनका आधारमा गत भदौ १९ मा परीक्षा भयो । जसमा तुमबेवा १ कि यानुका कार्की सफल र तुमबेवा ३ की अम्बिका सुवेदी वैकल्पिक भनी विद्यालयले अन्तिम नतिजासमेत प्रकाशित गरेको छ । तर परीक्षाफल प्रकाशन भएको ४ महिनासम्म पनि विद्यालयले विभिन्न बाहानमा नियुक्ति नदिएको उत्तीर्ण परीक्षार्थीको आरोप छ ।

#Ad

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चन्द्रकला लिम्बूको अनुपस्थितिमा प्रक्रिया नपुर्‍याई परीक्षा गराइएको भन्दै व्यवस्थापन समितिले नै नियुक्ति रोकेको पीडितको गुनासो छ । तर विवाद बढ्दै गएसँगै अध्यक्षले आफ्नो दोस्रो व्यक्तिलाई अख्तियारी दिएको किर्ते कागज फेला परेको छ ।

वैकल्पिकमा रहेकी सुवेदीलाई नियुक्ति दिन विद्यालय व्यवस्थापन समिति लागि परेको पीडितको आरोप छ । पीडित कार्कीले भनिन् ‘म परीक्षामा सफल भएर पनि नियुक्ति पाएको छैन । यसको पछाडि विद्यालय व्यवस्थापन समिति र तुम्बेवा वडा नम्बर १ का वडा अध्यक्ष धनबहादुर कार्कीको हात छ । किन भने वैकल्पिकमा नाम रहेकी व्यक्ती सोही विद्यालयमा अध्यापन गराउने एक शिक्षककी श्रीमती हुनुहुन्छ । उहाँलाई नै जागिरमा राख्ने उहाँहरूको नियत रहेछ । तर गाउँपालिकाको शिक्षा प्रशासनले लिएको परीक्षामा ठुलो अन्तरले म उत्तीर्ण भए, जसले गर्दा उहाँहरू अनेक बाहानमा मलाई हटाउने प्रपोकाण्ड रच्नुभयो ।’

पीडित परिक्षथीले आफुले न्याय माग्दा वडाध्यक्ष कार्कीले सार्वजनिक स्थानमा गालीगलोच गरेको बताएकी छन् । उनले रक्षक बन्नुपर्ने जनप्रतिनीधि नै भक्षक भएपछि अब न्याय माग्न कहाँ जानु भन्दै आफ्नो सामाजिक सञ्जामा गुनासो पोखेकी छन् ।

हेनुहोस् पीडितको गुनासोः

नमस्कार म यानुका कार्की , घर पाँचथर तुम्वेवा गाउँपालिका वडा नं. १ । स्नातक सकेर स्नातकोत्तरको तयारीमा थिए । तर यसबीच भएका केही घटनाले मानसिक रोगको सिकार भएको छु । तलको फोटोमा पनि स्पष्ट छ, कुरा भदौ १९ गतेबाट सुरू भएको हो। तुम्वेवा गाउँपालिका वडा नं . १ मा रहेको श्री सिद्ध महेन्द्र मा . बि. ले करारमा शिक्षक आवश्यकता भनी विज्ञापन गरेको थियो, जसमा मैले पनि आवेदन दिए । साउनमा गरिएको उक्त विज्ञापको परीक्षा भदौ १९ गते गाउँपलिका अन्तर्गत शिक्षा शाखा प्रमुख (राजेन्द्र पौडेल ) को उपस्थितमा भएको थियो । २जना प्रतिस्पर्धी मध्ये म सफल भए । तर ३ दिन पछि (भदौ २२ गते) विद्यालय जादा मलाई नियुक्ति दिइएन । कारण जो वैकल्पिक उम्मेदवार हुनुहुन्थ्यो उहाँले आफूलाई परीक्षाको प्रतिफल चित्त नबुझेको र परीक्षा नियम विपरीत भयो भनेर गाउँपालिकाको न्यायिक शाखामा उजुरी पेश गर्नु भएको रहेछ । म कानुनको विध्यार्थी त हैन तर मलाई जानकारी भएसम्म सो विषय न्यायीक समीतिको अधिकार क्षेत्र भन्दा बाहिर छ । बाकीँ कुरा उहाँहरु नै जान्नुहोस । यधपी न्यायिक समितिको फैसला पछि शिक्षा शाखाले सबै कागजपत्र र खाताहरू सहित मलाई तत्काल नियुक्ति हुनु भनी सिफारिससमेत गर्यो । तर विद्यालय व्यवस्थापन समितिले न हाजिर गर्न दियो न त नियुक्ति नै । कारण बुझ्दा परीक्षा हुनभन्दा अगाडी विद्यालयमा व्यवस्थापन समितिको बैठक बसी परीक्षा समिती बनाउनु पर्ने रहेछ, यता विध्यालयले उक्त समिति नबनाई परीक्षा संचालन भएको थियो रे । व्यवस्थापन समितिको अध्यक्ष चन्द्रकला लिम्बूले आफूलाई परिक्षाको विषय जानकारी नभएको जिकिर गर्नुभयो । आफू १७ गते नै बिरामी भएर तराई गएको र कार्यवाहक पनि कसैलाई नदिएको कुरा बैठकमा राख्नुभयो । यहाँसम्म त मलाई पनि प्रक्रियागत त्रुटि भएछ भन्ने नै थियो । त्यसपछि बिध्यालयका प्रधानाध्यापकको समेत अनुपस्थित रहेको भनेर नियुक्ति दिन नमिल्ने भनियो । तर सो दिन प्र. अ.लाई म स्वयमले परीक्षा केन्द्रमा देखेकी छु । पछि बिवाद बढ्ने देखिएपछि व्यवस्थापन समितिको अध्यक्ष चन्द्रकला लिम्बूले २०८०/५/१८ गतेको मितिमा कार्यवाहक अर्को ब्याक्तीलाई दिइएको पत्र निकाल्नु भयो । जसबाट मेरो नजरमा उहाँ नैतिकता नभएको ठुटे राजनीति गर्ने पतित भएको ब्यक्ति मात्रै हो भन्ने लाग्यो । यता प्र. अ. ले पनि हतार हतार राजिनामा दिएर आरामले पेन्सन खाँदै बस्नुभएको छ । म परीक्षार्थिलाई विद्यालयले गर्ने पूर्व तयारीहरूको बारेमा त के जानकारी हुन्छ होइन र ? कि तपाईंहरूको कमजोरीको भागिदार म बन्नु पर्ने हो ?? शिक्षा शाखाले कागज नपुगेको भनेर परीक्षा गर्न आनाकानी गरेको सोही दिन मैले पनि थाहा पाएको थिए । तर तुम्बेवा १ का वडाअध्यक्ष धनबहादुर कार्कीले कागजकै कारण परीक्षा नरोकौ भनेपछि मात्रै रोक्किन लागेको परीक्षा संचालन भएको रहेछ । पछि आफू विवादमा परिन्छ भनेर उहाँले बोली फेर्नुभयो ।

लौ न त त्रुटि मानिसबाटै हुने हो पुन परिक्षा गरौं भन्ने कुरा भयो । प्रतिस्पर्धामा फरिकिलो अन्तरले सफल भएकी म त्यसको लागि पनि तयार भए । यसबीच अर्को म निरन्तर १५ दिनसम्म विध्यालय गएकी छु । परिक्षा नगराइ नियुक्ति हुदैन, परिक्षाको मिती टुंगो लगाएर बोलाउँछौ भनेपछि म स्कुल जान छाडे । करिब एक महिनासम्म जानकारी नआएपछी विद्यालयमा बुझ्न जादा परीक्षा चाँडै हुने आश्वासन मात्र पाइयो । यसरी नै ३ महिना बित्यो । अब वडाअध्यक्ष र नयाँ प्र. अ (जो व्यवस्थापन समितिको अध्यक्ष चन्द्रकला लिम्बूको श्रीमानसमेत हुन) बेदकुमार माङलाक र वडा अध्यक्षले शिक्षक आवश्यक नभएकाले अब परीक्षा हुँदैन भन्नुभयो ।

यदि शिक्षक आवश्यकता थिएन भने विज्ञापन किन खुलाइयो ? परिक्षा किन गराइयो ? तँ पास भइस भनेर विध्यलयको लेटरप्याडमा लेखेर भित्तामा किन टाँसियो ? मलाई यत्तिका महिनासम्म किन झुलाइयो? मोरङमा खाँदैगरेको जागीर छाड्न किन लगाइयो ? मलाई बिना गल्ती बोकाइएको मानसिक तनावको क्षतिपुर्ती कहाँ माग्ने ? आज मेरो स्नातकोत्तर तहको भर्ना गर्ने र पढने बाटो रोक्किएको छ यसको जिम्मेवारी कसले लिने ? मैले सम्बन्धित निकायमा ध्यानाकर्षण पनि गराएको हो तर सम्बन्धित निकाय गहिरो निन्द्रामा भएको अभिनय गर्न ब्यस्त छ । यता वडाध्यक्ष्य धनबहादुर कार्कीको दादागिरी खपिनसक्नु छ । मेरो अधिकार खोज्दा वडाअध्क्षको गालिगलोच सुन्नु पर्छ । जनप्रतिनिधि भनेको जनताको समस्या सुल्झाउने हो कि उनिहरुलाई दुख दिने ? मैले मेरो अधिकार खोज्दा म सार्वजनिक रूपमा लज्जित हुनुपर्ने ? अब भन्नुस विद्यालयमा कुन हदको राजनीति भैरहेको छ ?