फिचर न्युज राजनीति

भुटानी शरणर्थी प्रकरणः प्रमाण चपाएका खाणलाई घरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । पूर्वगृहमन्त्री एवम्‌ नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । खाण गत वैशाख २७ गते पक्राउ परेका थिए । प्रहरीले नियन्त्रणमा लिनु अघि उनले प्रमाण लुकाउन कागज चपाएका थिए ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेशमा पठाउने प्रकरणमा संलग्न खाणलाई यसअघि जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर गर्दै जेल चलान गरेको थियो ।

उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरी खाणलाई धरौटीमा छाड्न निर्देशन दिएको हो । यसअघि खाँणलाई रिहा गर्ने या नगर्नेबारे उच्च अदालतका न्यायाधीशबीच मत बाझिएको थियो । तर, न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई धरौटीमा छाड्नुपर्ने भनी न्यायाधीश जनक पाण्डेले दिएको रायलाई सदर गरेको हो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका ३० मध्ये १० जनालाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिइसकेको छ । यही प्रकरणमा मुछिएका सत्तारुढ (माओवादी केन्द्र) का पूर्वनेता टोपबहादुर रायमाझी जेलमै रहे पनि उनका छोरा सन्दीप रायमाझी समेत उच्च अदालत पाटनको आदेशमै रिहा भइसकेका छन्‌ ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै राज्यस‌ंयन्त्रकै मिलेमतोमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरिएको छ । यस प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वगृहसचिव, शरणार्थी नेतादेखि बिचौलिया गरी कम्तिमा ३० जना संलग्न रहेको भेटिएको थियो ।