कृषि फिचर न्यूज

कोशी प्रदेशमा बढ्यो यस वर्ष धान उत्पादन

विराटनगर, मंसिर १६ । कोशी प्रदेशमा गत वर्षभन्दा यसपालि धान उत्पादन बढेको छ। कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि विकास निर्देशनालयका अनुसार यो वर्ष १३ लाख ८२ हजार १३७ मेट्रिकटन धान उत्पादन भएको छ।

यो परिमाण गत वर्षभन्दा ८३ हजार मेट्रिकटन भन्दा बढी हो। गत वर्ष कोशी प्रदेशका विभिन्न जिल्लामा गरी १२ लाख ९८ हजार ८५५ मेट्रिक टन धान उत्पादन भएको थियो।

निर्देशनालयका अनुसार गत वर्षको धान उत्पादकत्व ३.९२ प्रतिशत थियो। यो वर्ष उत्पादकत्व वृद्धिदर ५.८३ पुगेको छ। पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मल उपलब्ध हुनु, उन्नत जातको बीउको प्रयोग र रोग किराको प्रकोप कम भएकाले उत्पादन वृद्धि भएको जनाइएको छ।

कोसी प्रदेशको उच्च पहाडी क्षेत्रमा यस वर्ष २३ हजार २४५ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। मध्यपहाडी क्षेत्रको ८७ हजार ९३२ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो।

यस्तै पूर्वी तराईको मोरङ, झापा र सुनसरीमा धान उत्पादनको क्षेत्र र उत्पादन वृद्धिदर पनि बढेको छ। गत वर्ष ती तीन जिल्लामा २ लाख १९ हजार ३९३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा ९ लाख ७८ हजार ६५८ मेट्रिक टन उत्पादन भएको थियो।

यो वर्ष भने तीन जिल्लाको २ लाख २४ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा उत्पादन बढेर १० लाख ७३ हजार ६४७ मेट्रिक टन पुगेको छ। संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुंगा र खोटाङमा भने गत वर्ष भन्दा उत्पादन घटेको छ। ताप्लेजुङ, सोलुखुम्बु तथा मध्यपहाडी जिल्लाको पाँचथर र इलाममा धान उत्पादन बढेको छ।