काठमाडौं, असोज १८ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेटर तथा नेपाल प्रहरीका जवान दीपेन्द्रसिंह ऐरीकाे पद बढुवा भएको छ ।
प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले दीपेन्द्रलाई सम्मानस्वरूप ‘प्रहरी सहायक हवल्दार’ पदमा पदोन्नति गर्ने निर्णय गरेका हुन् । ऐरी २०७३ सालदेखि नेपाल पुलिसमा आबद्ध छन् ।
मङ्गोलियाविरुद्धको खेलमा नेपालले विभिन्न कीर्तिमान कायम गर्दा दीपेन्द्रले पनि सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा नाम लेखाएका हुन् । उनले ९ बल खेल्दै ५० रन बनाएका थिए । ऐरीले पहिलो छ बलमा छ छक्का प्रहार गरेर अर्को कीर्तिमान बराबरी गरेका छन् । यसअघि युवराज सिंह, क्रिस गेल र हज्रातुल्ला जाजाइले १२ बलमा अर्धशतक प्रहार गरी कीर्तिमान कायम गरेका थिए ।
त्यस्तै, दीपेन्द्रले स्ट्राइक रेटमा पनि नयाँ कीर्तिमान कायम गरेका छन् । उनले १० बलमा ५२ रन प्रहार गर्दै ५२० को स्ट्राइक रेट बनाएका छन् । दश बलभन्दा बढी खेल्ने कुनै पनि खेलाडीले हालसम्म ५०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छैनन् । यसअघि सन् २०१६ मा जिम्बाबेको घरेलु टी२० प्रतियोगितामा माल्क्लोम वालरले ४३० को स्ट्राइक रेटमा रन बनाएका थिए ।