कला फिचर न्यूज

भक्तपुरको खड्का गाउँमा वृन्दावन धाम बन्ने

भक्तपुर, असार १० । भक्तपुरको सूर्यविनायक-१० खड्का गाउँमा वृन्दावन धाम बन्ने भएको छ । आज स्थानीय महाकालेश्वर तथा राधाकृष्ण मन्दिरमा भएको एक कार्यक्रममा मन्दिर क्षेत्रलाई वृन्दावन धाम बनाउने घोषणा गरिएको हो । भक्तीपथ फाउन्डेसन संस्था नेपाल र सूर्यविनायक नगरपालिका बीचको सहकार्यमा बन्ने उक्त धामले धार्मिक पर्यटकको आगमन बढाउने पालिकाको विश्वास छ ।
आज बिहान सम्पन्न कार्यक्रममा फाउन्डेसनका संरक्षक आचार्य श्री शितल कृष्णजी महाराजलाई नगर प्रमुख वासुदेव थापाले महाकालेश्वर तथा राधाकृष्ण मन्दिरको पिठाधिस नियुक्त गर्दै अभिनन्दन गरेका थिए । नगर प्रमुख थापाले कृष्णजी महाराजलाई मन्दिरको पिठाधिसको जिम्मेवारी सुम्पँदै खुसी व्यक्त गरे । उनले भने ‘वृन्दावन धामले सूर्यविनायकमा पर्यटकीय चहलपहल बढाउनेमा हामी विश्वस्त छौँ । यहाँसम्म आउन आवश्यक पुर्वाधार निर्माण गर्ने हामी आजैबाट काम थाल्नै छौँ ।’

यता कृष्णजी महाराजले पनि पालिकासँग सहकार्य गरेर धार्मिक क्षेत्रको विकास गर्न पाउँदा खुसी ब्यक्त गरे । ‘नगर प्रमुख ज्युले गरौँ भनेपछि हुन्छ भने । उहाँहरूले यो क्षेत्रको विकास गर्नुहुन्छ, म खुब प्रचार गर्ने छु ।’

कार्यक्रममा शितल कृष्णजी महाराज र नगर प्रमुख थापासहित उपप्रमुख सरिता तिमसिना, वडा नम्बर १० का अध्यक्ष शिवराम राउत लगायत चार धामबाट फर्किएका तीर्थ यात्रीको उपस्थिति थियो । तीर्थ यात्रीले कार्यक्रममा उपस्थितहरूलाई तीर्थ भोज गराएका थिए ।