अन्तर्राष्ट्रिय

रुस-युक्रेन युद्ध: पूर्वी बाख्मतमा मात्रै २० हजार रुसी लडाकुको मृत्यु

काठमाडाैं, जेठ ११ । जारी रुस-युक्रेन युद्धका क्रममा पूर्वी बाख्मत सहरमा मात्र २० हजार रुसी लडाकुको मृत्यु भएको छ।

रुसका तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको निजी सैन्य समूह वागनरले बाख्मत सहर कब्जाका लागि भएको लडाईमा आफ्ना २० हजार लडाकु मारिएको बताएको छ । वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै १० महिना चलेको संघर्षमा आफ्ना समूहका २० हजार सैनिक जवानलाई गुमाउनु परेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उनले क्रेमलिन समर्थक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँगको अन्तर्वार्ताका क्रममा यो जानकारी दिएका हुन् ।

दाबी गरिएको संख्याको स्वतन्त्र रुपमा भने पुष्टि भएको छैन। युक्रेनले पश्चिमा देशहरुको सहयोगमा सुरु गर्ने भनिएको प्रतिआक्रमणबाट रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्राइमियाबाट समेत लखेट्ने उद्देश्य रहेको हुनसक्ने प्रिगोजिनको अनुमान छ । क्रेमलिनले बाख्मत सहर कब्जा गर्ने क्रममा आफ्ना ६ हजार सैनिकको मृत्यु भएको जनाएको छ।

वागनर प्रमुखले भने जति सैनिकको मृत्यु भएको हो भने बाख्मतमा रुसले ब्यहोरेको क्षति सन् १९८० को दशकमा अफगानिस्तान युद्धमा सोभियत संघले गुमाएको सैनिक संख्याभन्दा धेरै हो । वागनरमा कम तालिमप्राप्त लडाकु धेरै भएकाले यति धेरै संख्यामा क्षति भएको अनुमान युद्ध विश्लेषकले गरेका छन् ।