काठमाडाैं, जेठ ११ । जिल्ला अस्पताल सिन्धुलीमा उपचाररत गर्भवतीको मृत्युको विषयलाई लिएर आफन्तले सुरु गरेको आन्दोलन ३ बुँदे सहमति पश्चात् स्थगित भएको छ ।
घटनाको विषयमा अस्पताल व्यवस्थापन समिति, सरोकारवाला निकाय र पीडित पक्षबीच तीन बुँदे सहमति भएको हो । वार्तामा घटनाका विषयमा सत्य तथ्य छानबिन गर्न चार सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ । समितिमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट तोकिएका २ जना चिकित्सक, जिल्ला स्वास्थ्य कार्यालयका १ जना प्रतिनिधि र पीडित पक्षबाट आमन्त्रित एक जना गरी चार सदस्यीय समिति गठन गर्न अनुरोध गर्ने निर्णय भएको छ ।
यस्तै आन्दोलन फिर्ता गर्ने, बिपी राजमार्ग खुलाउने र अस्पतालका सेवा अवरुद्ध नगर्ने सहमति भएको छ । यसअघि आन्दोलनकारीले अस्पतालको भौतिक संरचना तोडफोड गर्दा १ करोड बढीको क्षती भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सतिशचन्द्र ढकालकाे दाबी छ ।
मृतक कमलामाई नगरपालिका ५ सिलामेकी गंगाकुमारी गुरुङ श्रेष्ठ प्रसूति गराउन सिन्धुली अस्पताल पुगेकी थिइन् । डाक्टरले प्रयोग गरेको सुइका कारण बिरामीको मृत्यु भएको पीडित पक्षको आरोप छ ।